Prakash Adhikari April 24, 2023

काठमाडौं, ११ वैशाख । घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ ।

लगातार तेस्रो जित निकालेर सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने नेपालको तयारी छ ।

समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो ।

नेपालले आजको खेलमा सन्दीप लामिछाने, सोमपाल कामी, कुशल मल्ललाई विश्राम दिनसक्छ । आज ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झाले मौका पाउन सक्छन् ।

नेपालले २०१२ पछि साउदी अरेबियासँग पहिलोपल्ट ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले दशक अघि भएको खेलमा साउदीलाई ९ विकेटले हराएको थियो । सो खेलमा नेपालका ज्ञानेन्द्र मल्ल २३ बलमा ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

वर्षा आजको खेलमा नेपाललाई बाधक बन्नसक्छ । आइतबार साँझ देखि काठमाडौंमा हल्का वर्षा भएको छ । सोमबार विहान काठमाडौंको आकाश कालो बादलले ढाकिएको छ । बिहानको समयमा हाल्का वर्षाको सम्भावना छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म ५२ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना छ । अर्थात उक्त समयमा वर्षा हुने उच्च सम्भावना देखिन्छ ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।

समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी ।

साउदी अरेविया टोली

मोहम्मद हिशाम शेख, जैनुल अबिदिन, साद खान, अतिफ उर रहमान, अब्दुल वाहिद, हासिब गाफुर, इशताक अहमद, अब्दुल वाहिद अब्दुल गफार, इमरान आरिफ, वाकर उल हसन, जुहाइर मोहम्मद, अब्दुल मानन अली, अहमद अब्दुल वाहिद, उस्मान नाजिब ।

(स्रोतःहाम्रो खेलकुद)

 

Share Now

Leave a comment.