Prakash Adhikari April 8, 2018

 

कठमाडौं, २५ चैत्र । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा यही चैत्र २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा “खाने पानी, वातावरण र जलवायु परिवर्तन“ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजक समितिले यसको जानकारी दिएको हो ।

आयोजक समिति एवम् सोफेनका अध्यक्ष रामदीप साहका अनुसार जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन निकै सान्दर्भिक रहेको छ ।

आयोजक समितिले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस नोटमा भनिएको छ, ‘बढ्दो जनसंख्याका कारण भैरहेको वनजंगल विनास र औद्योगिकरणको प्रभावले वायु मण्डलमा थपिदै गएको कार्वन मनो अक्साइड, कार्वनडाई अक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको छ । विश्वव्यापी तापक्रम बृद्धिले जलवायुमा परिवर्तन ल्याएको छ । यसको असरबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकमा नेपाल पनि पर्दछ । पृथ्वीको तापक्रममा भएको बृद्धिले हाम्रो हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ । हिमाली भेगमा धेरै हिमतालहरु देखा परेका छन् । हिमनदीहरुको लम्वाई छोटिदै छ । हिउँले ढाकिएका कतिपय उच्च पर्वतहरु हिउरहित भएका छन् । पहाडमा पानीको मूल सुक्दै गएका छन् । अतिवृष्टि,अनाबृष्टि, खण्डबृष्टि जस्ता घटना बढेका छन् । बाढी पहिरो र प्राकृतिक प्रकोप बढेको छ ।’
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष साहले भने,“यसप्रति समयमा ध्यान नदिने हो भने जसलाई हामीले प्रकृतिको वरदान र प्राकृतिक स्रोत मानि आएका छौ, ती हाम्रा सन्ततिका लागि सुरक्षित नहुने अवस्था आउछ । पूर्वाधार र आर्थिक विकास सहित औद्योगिकरणको पनि तीव्र चाहाना राखेका नेपालीको जीवनस्तर उकास्ने र उच्च स्तरको जीवनशैली यापन गर्ने चाहना परिपूर्ति गर्नका लागि विकासको पाइला चाल्दा विश्वको अनुभवलाई हामीले ध्यानमा राखेनौ भने त्यसले हामीलाई थप समस्यातर्फ लैजान सक्छ ।”

पानीको विकल्प छैन

पत्रकार सम्मेलनमा सोफेनका समेत अध्यक्ष रहेका साहले संसारमा धेरै कुराको विकल्प देखिएको तर पानीको विकल्प नभएको वताए । उनले भने, त्यसैले पानी अमूल्य छ । पानीलाई जीवनको रुपमा लिइन्छ । स्वच्छ पानीको उपलब्धता स्वस्थ जीवनसंग अभिन्न रुपमा गासिएको छ ।

यही स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीको अभाव हुन नदिने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पु¥याउने र जलवायु परिवर्तनका असरबाट नेपाल र नेपाली जनतालाई जोगाउने बृहत् तथा दूरगामी महत्वको उद्देश्य राखेर सम्मेलन आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

सम्मेलनको संरक्षकत्व खानेपानी मन्त्रालयले लिएको छ भने सम्मेलनको सहआयोजकमा वन तथा वातावरण मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड रहेका छन् ।

पत्रकार सम्मेलनमा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहले पानी , खाना र उर्जाको संकट बढ्दै गएकोले यिनको दिगो उपयोगिता विज्ञानको लागि चुनौति भएको बताए ।

उनले हरेक थोपा पानीको महत्व भएको उल्लेख गर्दै पानीको बहुआयामिक उपयोगितामा ध्यान दिन जरुरी भएको बताए । उनले भने पानीको अभाव हटाउनका लागि किफायती उपयोग(रिडक्सन), पुन उपयोग(रियुज) र रिचार्ज महत्वपूर्ण हुन्छ । उनले नेपाल जलवायु परिवर्तनबाट नराम्रोसंग प्रभावित मुलुक मध्ये चौथोमा पर्ने भएकोले जलवायु परिवर्तनका असर न्यूनिकरण र अनुकूलन तर्फ हाम्रो ध्यान जान पनि उत्तिकै जरुरी भएको बताएका थिए ।

यो सम्मेलन चैत्र २७ देखि २९ सम्म काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुनेछ । सम्मेलनको उद्घाटन महामहिम उपराष्ट्रपति नन्दकिशोर पुनबाट चैत्र २७ गते हुने कार्यक्रम छ ।

आयोजक समितिले तीन दिवसीय सम्मेलनमा खानेपानी,वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय, विज्ञ,अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरि २० राष्ट्रका विज्ञहरुसहित करिब ५ सय जनाको सहभागिता रहने जानकारी दिएको छ ।

सम्मेलनमा नेपालका २८ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुले सहभागिता रहनेछ भने १० वटा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्षहरु , खुला दिसामुक्त हुन बाँकी रहेका ११ जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्षहरु,जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका इञ्जिनियरहरु,सहभागी हुनेछन् ।

सम्मेलनलाई दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री, एशियाली विकास बैंकका उपाध्यक्ष, माननीय अर्थमन्त्री डा.युवराज खतिवडा, एशिया वाटर काउन्सिल र कोरिया वाटराका अध्यक्षहरु, भारतको डा.मोदी विश्वविद्यालयका उपकुलपति, एआईटी बैंकक, आईआईटी कानपुर,राजस्थान विश्वविद्यालया, कोरियन विश्वविद्यालय लगायत विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरुबाट प्रमुख सम्बोधन हुनेछ ।

सम्मेलनमा १७ वटा कि नोट पेपर प्रस्तुत हुनेछन् । सम्मेलनका २६ वटा शत्रमा विभिन्न १५ विषयमा १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । ती कार्यपत्र उपर विज्ञहरुबाट टिप्पणी हुनेछ । त्यसलाई सहभागीहरुबीच छलफल गरी परिस्कृत र पारिमार्जन गरिनेछ । सम्मेलनबाट निस्केका सुझाव र प्रतिवेदन सहभागीहरु, संवन्धित संस्थाहरु र संवन्धित मुुलुकका लागि अत्यन्त उपयोगी हुने आयोजकको विश्वास रहेको छ ।

नेपालको लागि अत्यन्त सामयिक

पत्रकार सम्मेलनमा वातावरण विद् भूषण तुलाधरले यो सम्मेलन संक्रमणकालमा रहेको नेपालको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले भने, जसले संक्रमण पार गर्दछ, त्यसले फड्को हान्छ । अहिले मुलुक स्थानीय तह र प्रादेशिक संरचनामा गएको जनप्रतिनिधि निर्वाचित भएर आएकोले पानी, सफाई र जलवायु परिवर्तनका बारेका तल्लो तहदेखि केन्द्रसम्म योजनाबद्ध रुपले काम गर्न सकिने अवस्था छ । सम्मेलनमा सहभागी स्थानीय निकायका प्रतिनिधिहरु र स्थानीय तहमा कार्यरत इञ्जिनियरहरुको सहभागिताले नेपालको योजना तर्जुमा र कार्यान्वयनमा दीर्घकालीन लाभ दिने उनको भनाई रहेको छ ।

आयोजक समितिले भनेको छ, ‘यस सम्मेलनमार्फत हासिल सिकाइहरुको समुचित उपयोग गरी राज्यद्धारा भावी दिनमा अबलम्बन गरिने नीति, योजना, कार्याविधि,लगानी,प्रविधि र क्रियाकलापलाई अझ बढी पानी, वातावरण र जलवायु परिवर्तनमैत्री बनाउन सकिनेछ भने देशको संघीय संरचनामा दिगो रुपमा खानेपानी, सरसफाई र स्वच्छताका सुविधा विस्तार गर्ने कार्यमा नवीनता र सिर्जनशीलता ल्याउन सकिनेछ ।समग्रमा जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई न्यूनीकरण गरी जल र वातावरणीय सन्तुलन कायम गर्दै राष्ट्रिय एवम् अन्तराष्ट्रिय तहको सुदृढ लगानी र साझेदारी मार्फत दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा यस सम्मेलनले मार्गदर्शन गर्नेछ ।’

सम्मेलनमा खानेपानी सम्बन्धी, नीति,नियम,कानून, खानेपानी,सरसफाई र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको भूमिका,एकीकृत जलस्रोत व्यवस्थापन,जल व्यवस्थापनमा प्रविधि र प्रवर्तन, स्मार्ट जल व्यवस्थापन, संस्थागत क्षमता निर्माण, ,दिगो विकासका लक्ष्यप्राप्तिका लागि रणनीतिक जल व्यवस्थापन, पानीको पुनप्र्रयोगको व्यवस्थापन प्रविधि एवम् केन्द्रीकृत र विकेन्द्रित व्यवस्थापन, सामाजिक वातावरणीय पक्ष र वातावरणीय अर्थशास्त्र, नवीकरणीय ऊर्जा, ढल व्यवस्थापन, पानीको दिगो आपूर्ति, जलवायु परिवर्तन र अनुकूलन, जलवायु परिवर्तनको आर्थिक,वातावरणीय र सामाजिक प्रभाव, जलवायु उत्पन समस्या र जोखिम जस्ता विषयमा केन्द्रित कार्यपत्रहरु प्रस्तुत हुने बताएको छ ।

फोहर पानीको शुद्धीकरणको अनुभव साटिने

अन्तराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा २६ गते ‘नेपालमा फोहरपानी प्रशोधनको विकेन्द्रीत मार्गचित्र ः दक्षिण एशियाली अनुभवबाट सिकाई” नामक गोष्ठी आयोजना हुने भएको छ । यसमा १० देखि १००० घरबाट निसृत फोहर पानी प्रशोधन गर्ने स्वदेश र विदेशको अनुभव नेपालका नगरपालिका र गाँउपालिकाहरुका लागि निकै उपयोगी हुने विश्वास गरिएको छ ।

सम्मेलनको समापन पश्चात सहभागीहरुलाई खानेपानी र फोहरपानी प्रशोधनका केन्द्रहरुको अवलोकन भ्रमणको अवसर पनि जुटाइएको छ । जसमा सुन्दरीजल पानी प्रशोधन केन्द्र र मेलम्ची आयोजनाको सुरु¨ अवलोकन, गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्र, र लुभुको ढलप्रशोधन केन्द्र रहेका छन् ।

सम्मेलन आयोजना गर्नको लागि न्यू भेञ्चर फण्ड, विश्व स्वास्थ्य संगठन, यूनिसेफ, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति, एसएनभी, इवाग स्वीजरल्याण्ड, आयोजना कार्यान्वयन निर्देशनालय, वाटर एड, अक्सफाम, इन्फो, काठमाडौं विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल पर्यटन बोर्ड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको सहयोग प्राप्त भएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिको तर्फबाट नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष ई.हरेराम श्रेष्ठ र खानेपानी विभागका महानिर्देशक तेजराज भट्टले पनि सम्मेलनका विविध आयामबारे प्रकाश पारेका थिए ।

Share Now

Leave a comment.