Prakash Adhikari April 26, 2023

नवलपरासी, १३ वैशाख (रासस)  । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ ।

गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी ( बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर आज उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले भन्नुभयो, “कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग गर्दै आएको छ ।” नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्ने उहाँको विश्वास थियो ।

मन्त्री रिजालले भन्नुभयो, “विदेशी प्रविधि भित्र्याउन आवश्यकपर्ने नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौँ ।” गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको छ ।

गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क, सामसुङ कम्पनीका दक्षिणपूर्व एसियाका सीइयो जेवी पार्क, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

Share Now

Leave a comment.