काठमाडौँ, १८ वैशाख (रासस) । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।”
३६ विभाग गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको केन्द्रीय कार्य समितिको बैठकले ३६ विभागहरू गठन गरेको छ ।
पार्टीका प्रवक्ता मुकुल ढकालले दिनुभएको जानकारी अनुसार नीति तथा विचार विभाग र प्रशिक्षण विभागको प्रमुखमा डा मुकुल ढकाल चयन हुनुभएको छ । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन हुनुभएको छ ।
यसैगरी मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय आईट संयोजन विभागमा विष्णुकुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संसाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख चयन हुनुभएको छ ।
यसैगरी आर्थिक व्यवस्थापन विभागमा लीमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन हुनुभएको छ।
यसैगरी विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता अधिकारी र अर्थ नीति विभागमा डा स्वर्णिम वाग्ले प्रमुख चयन हुनुभएको छ ।
यसै गरी सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभागमा डा तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख चयन हुनुभएको छ ।
ढकालका अनुसार पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा बिराजभक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख चयन हुनुभएको छ ।
यसै गरी पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार। सहकारी विभागमा अशोक चौधरी, बन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख चयन भएको डा ढकालले जानकारी दिनुभयो ।


















