काठमाडौं, १९ वैशाख । नेपाल गृहमैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा विजयी भएको छ । प्रतिस्पर्धी युएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेको हो ।
एसीसी प्रिमियर कप च्याम्पियन बनेसंगै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको छ । नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।
हिजो र आज सम्पन्न एसीसी प्रिमियर कप फाइनल खेलमा नेपालसामु युएईले १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे ।
गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए ।
नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । स्पिनर रोहन मुस्तफाको बलमा उनी एलबीडब्लू आउट भए ।
सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू आउट गरे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गरेपछि नेपाल २२–३ को अवस्थामा पुगेको थियो ।
नेपाललाई रोक्ने क्रममा युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए भने आयान अफजल खानले एक विकेट भने आयान अफजल खानले एक विकेट।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
मंगलबार सोही अवस्थाबाट खेल प्रारम्भ भएपछि ११ रन जोड्दै युएई १ सय १७ रनमा अल हुन पुगेको थियो ।
हिजो र आज गरी सम्पन्न पहिलो इनिड.मा युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । युएईका लागि आर्यान लार्काले १३, मोहम्मद वासिमले ११, बासिल हमिद र जुनैद सिद्धकिले १०। १०, भृत्य अरविन्दले ८, आयन अफजल खानले ५, रोहन मुस्तफाले २, कार्तिक मायापान र रमिद सहजादले १ । १ रनको योगदान दिएका थिए ।
युएईलाई रोक्न स्पिनर ललित नारायण राजवंशीले ४, करन के.सी. र सन्दीप लामिछानेले २।२, तथा सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएका थिए ।
नेपाली बलर राजवंशीले सोमबारकै खेलको २८ औं ओभरको दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि खेल स्थगित भएको थियो । मंगलबार आरम्भ भएको खेलको पहिलो तथा सोमबारको निरन्तरताको चौथो बलमा जुनैद सिद्दिकले उक्त बल डट खेलेपछि ललित ह्याट्रिक गर्ने सपना पूरा हुन पाएन ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।


















