काठमाडौं, १९ वैशाख । नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
नेपाललाई प्रतियोगितामा अपराजित बनाउदै एसिया कपमा पुर्याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाएका थिए ।
प्रतियोगितामा युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका छन् ।
वृत्यले ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाएका थिए । उनले प्रतियोगिताभर ४४ चौका र १८ छक्का हानेका थिए ।
त्यस्तै ओमानका तीव्र गतिका बलर बिलाल खानले ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिता उत्कृष्ट बलर चुनिएका छन् ।
एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । सो खेलमा नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् ।
समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसीसीले आयोजना गर्ने गर्दछ ।


















