काठमाडौँ, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासङ्घद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्व संलग्न उच्चस्तरीय विज्ञ समूह आज गठन गरिएको महासङ्घले जनाएको छ ।
उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा गणेश गुरुङ, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुङ्गाना, अर्थविद् केशव आचार्य र डा कल्पना खनाल हुनुहुन्छ ।
विज्ञ समूहको पहिलो बैठक मङ्गलबार महासङ्घको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासङ्घका सल्लाह सुुझावलाई प्रभावकारीरूपमा सरकारमा पेश गर्न थप सहयोग पुुग्ने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास व्यक्त गर्नुभयो ।
पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुुपर्नेमा जोड दिइएको छ ।


















