Prakash Adhikari May 3, 2023

काठमाडौं, २० वैशाख । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका १६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन् ।

उनका बुबा मुरलीप्रसादको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बालाजुले आज डा ढकाललाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।

मंगलबार अपराह्न पक्राउ परेकाले  बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाउने बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरुविरुद्ध जाहेरी दर्ता गराउनुभएको थियो । आजै अदालतबाट उनीहरुविरुद्ध पक्राउको अनुमति लिएर खोजी भइरहेका बेला उनलाई बालाजु चोकबाट पक्राउ गरिएको हो ।

वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोसी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइट नोट पनि फेला परेको प्रहरीले जनाएको छ ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेकाले सोही आधारमा उनका परिवारले आत्महत्या दुरुत्सानमा जाहेरी दिएका हुन् । प्रहरीका अनुसार डा ढकाल र मृतक श्रेष्ठबीच विगतमा प्रेम सम्बन्ध रहेको पाइएको छ ।

Share Now

Leave a comment.