किमाथाङ्का(सङ्खुवासभा), २० वैशाख (रासस) । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत मजदुर गम्भीर घाइते भएका छन् । । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राई गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राई सङ्खुवासभा जिल्ला अस्पतालमा भर्ना गरिएको छ । सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।
घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
अरुण तेस्रो जलविद्युत्को आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा उपचारको समस्या भएको छ । मजदुरलाई चोटपटक लागेर घाइते भए समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था छ । आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् । विद्युत्गृहस्थलमा ‘पटेल इञ्जीनियरिङ’ र ड्यामसाइडमा ‘जयप्रकाश एशोसिएटस् कम्पनी’ले काम गरिरहेको आयोजनाले जनाएको छ ।
निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने बताइएको छ ।


















