काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका ३ सांसदहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा उहाँले नेपाली कांग्रेसका तर्फबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक गत वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो।
आठौँ पटकको विस्तारमा कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त हुुनुभएको थियो । त्यसअघि चैत १७ गते कांग्रेसका तर्फबाट चारजना मन्त्री नियुक्त हुनुभएको थियो।
सातौँ विस्तारका क्रममा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभएको थियो।
प्रधानमन्त्रीमातहत अहिले पनि वन र खानेपानी मन्त्रालय छन्। वन मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको मन्त्रालय हो भने खानेपानी मन्त्रालयबाट जनमत पार्टीका अब्दुल खान बाहिरिएपछि प्रधानमन्त्रीमातहत गएको थियो।


















