काठमाडौं, २० वैशाख । सरकारले अर्थसचिवको जिम्मेवारी अर्जुनप्रसाद पोखरेललाई सुम्पेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा कार्यरत पोखरेललाई अर्थ सचिवमा सरुवा गरेको हो । बहालवाला अर्थसचिव तोयम रायालाई भने सरकारले उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ।
नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव बनाएर ल्याइएको थियो।
तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले रायालाई ल्याउनुभएको थियो।
एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको रुपमा आउनुभयो। उहाँ आएपछि नयाँ अर्थसचिवको खोजी भएको थियो । बैकुण्ठ अर्याल, केवल भण्डारी, कृष्णहरि पुष्कर र अर्जुन पोखरेल लगायतको नाममा छलफल चले पनि अन्त्यमा डा.महतको मन पोखरेलमा अडिएको थियो ।
यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्तमा तानिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा मा सरुवा गर्दै महिलाका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतीको कार्यालयमा पठाइएको छ