काठमाडौँ, २९ वैशाख (रासस) । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो ।
विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।
विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो
नेपाली कांग्रेसले संविधानसभा सदस्यसमेत रहेका आफ्ना नेता पुरुषोत्तम बस्नेतको निधनको शोकमा तीन दिन पार्टीको झन्डा झुकाउने भएको छ।
कांग्रेसको इतिहासका लेखकसमेत रहेका बस्नेतको निधनको शोकमा कांग्रेसले पार्टीका केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयहरुसम्म तीन दिन पार्टीको झन्डा झुकाउने भएको हो।
कांग्रेसले ३ दिन पार्टीको झन्डा झुकाउने
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बस्नेतप्रति सम्मान प्रकट गर्न यही वैशाख २९, ३० र ३१ गते केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाइने जानकारी दिनुभयो।
उहाँले वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र निधनको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको पनि बताउनुभयो।
जननायक बीपी कोइराला स्मृति ट्रस्टका अध्यक्ष राजेन्द्र पराजुलीका अनुसार शुक्रबार बिहान ४ बजे सिफल हाइटस्थित आफ्नै निवासमा बस्नेतको निधन भएको हो। उहाँ ट्रस्टका कोषाध्यक्ष हुनुहुन्थ्यो।
‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ पुस्तकका लेखक बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि काम गरेका थिए। उनी २०६२–०६६ सम्म कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य थिए। उनी सोलुखुम्बुका कांग्रेसका पूर्वसभापति पनि हुन्। उनले प्रजातन्त्रका लागि ९ वर्ष जेल जीवन पनि बिताएका थिए।
बस्नेतको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ।’


















