नाम्चे (सोलुखुम्बु), ३१ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथामा २०८० सालको वसन्त ऋतुको पहिलो सफल व्यवसायिक आरोहण गरिएको छ ।
आइतबार बिहान पौने ९ बजे चार विदेशी र चार नेपाली आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।
पहिलो व्यवसायिक आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका, चीनका लियानहुई चुई र हंगेरियन मटन टी सेर्स रहेका हुनुहुन्छ ।
चिनिया नागरिक चुईको यो ८ हजार मिटरमाथिका हिमालको पहिलो आरोहण हो ।
थुण्डु शेर्पाले योसहित १३ पटक सगरमाथाको शिखर चुम्नुभएको छ ।उहाँले प्राय सबै ८ हजारमाथिका हिमालको आरोहण गरिसक्नुभएको छ ।त्यस्तै, यो पहिलो आरोहणबाटै नेपाली आरोही पासाङ दावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राख्नुभएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ कीर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।
अहिले आधार शिविर भन्दामाथि सैयौंको संख्यामा आरोहीहरु शिखरतर्फ लागेका छन् । हिजो दिउँसो मात्रै चुचुरोसम्म आइसफल डाक्टरहरुले डोरी टाँग्ने काम सम्पन्न गरेका थिए ।
इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।
यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ४ सय ६७ जनाले अनुमति लिएका छन् ।
आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा यसपटक धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।