Prakash Adhikari May 15, 2023

ढाका (बंगलादेश), २ जेठ । नेपालबाट ५० मेगावाट बिजुली तत्कालै लैजान बंगलादेश तयार भएको छ।

सोमबारदेखि सुरु भएको नेपाल बंगलादेश सचिवस्तरीय बैठकमा दुवै देशका प्रतिनिधिहरु विद्युत व्यापार तत्काल थाल्न तयार देखिएका हुन्। सोमबार सहसचिवस्तरीय बैठकमा तत्कालै ५० मेगावाट विद्युत भारत हुदै वंगलादेश लैजाने सहमति भएको हो।

बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल गर्नुभएको थियो । सहसचिव स्तरीय बैठकमा भएको सहमतिलाई मंगलबारको सचिवस्तरीय बैठकले स्वीकृति दिने कार्यक्रम रहेको छ।

बंगलादेशमा भइरहेको सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गर्नुहुनेछ।

पहिलो दिनको बैठकको नेतृत्व गर्नुभएका सहसचिव भेटुवालले विद्युत व्यापार, प्रसारणलाइन, त्रिपक्षीय सम्झौताका एजेण्डामा छलफल भएको सञ्चारकर्मीलाई बताउनुभएको छ।

अहिले भारत र बंगलादेशबीच व्यापार भइरहेको प्रसारणलाइनबाट ५० मेगावाट लैजाने विषयमा छलफल भएको छ तर भविष्यका लागि भने नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारणलाइन निर्माण गर्ने विषयमा छलफल भएको छ।

भारतको बाटो हुँदै वंगलादेशमा विद्युत लैजानु पर्ने भएकाले उसलाई मनाउन दुवै पक्षका प्रतिनिधिहरु राजी भएका छन् । अहिले भारतले नेपालबाट बंगलादेशमा विद्युत लैजान ग्रीन सिंग्नल दिएको भएपनि नेपालबंगलादेशबीच विद्युत व्यापारको औपचारिक स्वीकृति दिएको छैन।

सहसचिवस्तरीय बैठकमा नेपालमा संयुक्त रुपमा जलविद्युत आयोजना निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो। ऊर्जा क्षेत्रमा क्षमता अभिवृद्धिका लागि नेपाल,भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता समेत गर्ने विषयमा छलफल भएको छ।

बंगलादेशका स्थानीय संचारमाध्यमका अनुसार बैठकमा विद्युत आयातका लागि भारत(बंगलादेश अन्तरसम्बन्ध जोड्ने, भारतीय कम्पनी जीएमआरद्वारा नेपालबाट भारत हुँदै बंगलादेशमा ५०० मेगावाट जलविद्युत ल्याउने प्रस्तावित सम्झौतामा हस्ताक्षर गर्ने विषयमा छलफल भएको छ। जीएमआरले नेपालमा ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली निर्माणको जिम्मा पाएको छ।

बंगलादेशले पटक पटक नेपालबाट बिजुली लैजान इच्छा समेत प्रकट गर्दै आएको छ। ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५०० मेगावाट बिजुली लैजान प्रस्ताव गरिसकेको छ।

बंगलादेशले नेपालमा ६ सय ८३ मेगावाटको सुनकोशी ३ जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गरेर बंगलादेश लैजाने तयारी गरेको छ। वंगलादेशका प्राविधिकसहितको टोली आएर सो आयोजनाको स्थलगत निरीक्षण समेत गरिसकेका छन्।

बंगलादेशमा अहिले दैनिक ६ – ७ घण्टा लोडसेडिङ हुने गरेको छ।

स्थानीय संचारमाध्यमका अनुसार बंगलादेशको राजधानी ढाका सहरमा मात्रै दिनमा ६०० मेगावाट विद्युत अपुग हुन्छ। बंगलादेशमा झण्डै २ हजार मेगावाट विद्युत अपुग भएको बताइन्छ।

बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अधिकारीले ग्यासको कम आपूर्ति भएकेले देशभरि कम्तिमा २५ वटा जेनेरेसन युनिटहरू बन्द गरिएको छ । यसले विद्यूत आपूर्तिलाई कठिन बनाएको छ । सबै प्लान्ट चलाएमा ६ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ।

Share Now

Leave a comment.