विज्ञान कार्की
पोखरा(कास्की), १ जेठ । पोखरा विश्वविद्यालयमा पनि ५५ औं बीमा दिवस भव्यताका साथ मनाइएको छ । बीमाको विषयमा चेतना अभिबृद्धि गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा स्कूल अफ विजनेसमा अध्ययनरत ३ सय भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बीमा दिवसको अवसरमा बिभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु र ब्यानरहरु बोकेको विद्यार्थीहरुको र्याली विश्वविद्यालयदेखि पृथ्र्वी राजमार्गसम्म पुगेर फर्केके थियो । र्यालीमा सहभागी विद्यार्थीहरुले सर्वसाधारणहरुलाई जनचेतनामूलक पर्चाहरु वितरण गरेका थिए ।
र्यालीको नेतृत्व स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गर्नुभएको थियो । र्यालीको बिसर्जन पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालयमा पुगेर भएको थियो ।
बिसर्जन सभालाई सम्बोधन गर्दै विश्वविद्यालका सहप्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाको महत्व र अपरिहार्यताको बारेमा प्रकाश पार्नुभएको थियो ।
समापन कार्यक्रममा बीमा तथा बैकिङ्ग अध्ययन समूहका अध्यक्ष दिपेश भुजेलले कार्यक्रममा सहभागी हुने र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्तिहरु, संस्था, सञ्चार माध्यम, विश्वविद्यालय प्रशासन, प्राध्यापक, विद्यार्थी, कर्मचारी, स्थानीय बासिन्दा, बुद्धिजीवि, जनप्रतिनिधि, प्रहरी प्रशासन, सवारी चालक तथा प्रायोजक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिनुभएको थियो ।
यो समूह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले २०७३ सालमा स्थापना गरेका हुन् ।