काठमाडौं,२ जेठ । नेपाली कांग्रेसको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट पाका युवाहरुको एक समूहले कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेको छ ।
संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टी जनाउँदै उनीहरुले जेठ महिनाभित्र देशका सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण,भरत खड्का, भूपेन्द्र शाही, सुबास पोखरेल,सुबास लोहनी लगायतका नेताहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको नेतृत्वमा चेहेरा बदल्ने अर्थात वर्तमान नेतृत्व नै परिवर्तन गर्ने अभियानको घोषणा गरेका हुन ।
रुपान्तरण अभियान अन्तरगत यही जेठ ११ गते जनकपुरबाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।
घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।
यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।
रुपान्तरण अभियानका अगुवा मधु आचार्यले पार्टीमा गैर कांग्रेसी चरित्र हावी भएकोले त्यसलाई विस्थापित गरेर कांग्रेसी चरित्र(विचार,अनुशासन र व्यबहार)स्थापित गर्न यो अभियान थालिएको दावी गर्नुभयो ।
आचार्यले नेपाली कांग्रेस स्थापना कालदेखि नै भ्रष्टाचारको विरोधमा रहेकोले यसका विरुद्धमा आवाज बुलन्द पारिने बताउनुभयो । हालै सार्वजनिक भएको शरणार्थी प्रकरणमा खुट्टा नकमाईकन दूधको दूध पानीको पानी गरेर भ्रष्टहरुलाई कारवाहीको दायरमा ल्याउन पनि नेपाल सरकार र राज्यका संवैधानिक तथा अन्य निकायलाई अनुरोध गर्नुभयो ।उहाँले राज्यका उच्च पदस्थ व्यक्तिहरुबाट हुने हाईप्रोफाइल भ्रष्टाचार अन्त्य गर्नका लागि यो अवसरको सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।
“अहिले एउटा मात्र फाइल खोलिएको हो । यस्ता गन्हाएका फाइल धेरै छन् “, आचार्यले भन्नुभयो, “सामान्यत सरकार फेरिदा नयाँ आशा हुन्छ । तर हाम्रोमा भ्रष्टाचार गर्न प्रतिपक्षको समेत मिलेमतो देखिएकोले जनतामा निराशा छ ।”
उहाँले थप्नुभयो, “अहिले अवसर आएको छ । सबै माछालाई कानुनी दायरामा ल्याइयोस् । ठूला माछालाई गंभिरताका साथ हेरियोस् । अपराधी कोही नछुटुन् ।”
अर्का अभियान्ता गुरु घिमिरेले आफूहरुले हालै पश्चिम नेपालका विभिन्न ठाँउमा गरेको अन्तरक्रियामा नेपाली कांग्रेसका कार्यकर्ताहरु वर्तमान नेतृत्वको कार्यशैलीबाट असन्तुष्ट रहेको पाएको र नेपाली कांग्रेसप्रति जनताको आस्थालाई घट्न नदिन रुपान्तरण अभियान थालिएको बताउनुभयो ।
उहाँले यो अभियानलाई कांग्रेस बचाउने, जोगाउने र कांग्रेसलाई लोकप्रिय पार्टी बनाउन चाहने पार्टीभित्रका सबैको सहयोग र समर्थन रहने पनि बताउनुभयो । “डा. शेखर भन्नुस कि पार्टीका महामन्त्रीद्धय विश्वप्रकाश र गगन हाम्रो अभियानलाई सबैंको समर्थन रहनेछ “, घिमिरेले भन्नुभयो ।
अर्का अभियान्ता देवराज चालिसेले अमेरिकामा दुई कार्यकालभन्दा बढी एकै व्यक्ति राष्ट्रपति बन्न नपाउने उदाहरण प्रस्तुत गर्दै आम नागरिकमा नेतृत्वमा चेहरा बदलिएको हेर्ने चाहना पनि हुने भएकोले आफ्नो अभियानले नागरिकको त्यो चाहना पनि पूरा गर्ने बताउनुभयो ।
रुपान्तरण अभियानका अभियान्ताहरुले आगामी निर्वाचनमा कुनै पार्टीसंग गठबन्धन नगरीकन चुनाव लड्न सक्ने आत्मनिर्भर कांग्रेस बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।