काठमाडौं, ४ जेठ । गण्डकी प्रदेश खेलकुद परिषद्ले अगाडि बढाएको ‘खेल्छ गण्डकी’ कार्यक्रमबाट प्रदेशमा महिला भलिबल खेलको विकासमा सहयोग पुग्ने भएको छ ।
परिषद्को बुधबार बसेको बैठकले सो कार्यक्रममार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निर्णय गरेको हो । परिषद्का सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषद्का सदस्य तथा कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै ‘खेल्छ गण्डकी’ कार्यक्रम महिला खेलाडी उत्पादनमा केन्द्रित गर्ने बताउनुभयो ।
नेपालको राष्ट्रिय खेल भलिबल पछिल्लो समय प्रदेशमै कमजोर बन्दै गएकाले सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उहाँले ‘खेल्छ गण्डकी’ मार्फत पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताउनुभयो । आव २०७९/८० का लागि विनियोजित रकमको रु ३० लाखमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषद्ले निर्णय गरेको छ ।
कार्यक्रममार्फत हालै एसइई दिएर बसेका विद्यार्थीलाई ‘ट्यालेन्ट हन्ट’का माध्यमबाट ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवासीय सुविधासहितको प्रशिक्षण दिइनेछ । ती ४० जनाबाट १२ जना छनोट गरी उनीहरूलाई पोखरामा नै राखेर छात्रवृत्तिस्वरुप ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि परिषद्ले समन्वय गर्ने भएको छ । यसका लागि उच्च मावि शिक्षा परिषद् गण्डकी, निजी विद्यालय, निजी क्षेत्र, भलिबल सङ्घ, शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने जनाइएको छ ।
कार्यक्रम प्रदेशकै खेलकुद विकासमा महत्वपूर्ण हुने बताउँदै सदस्य सचिव शर्माले यसको प्राथमिकता खेलाडी उत्पादनमा नै रहेको र महिला भलिबलसँगै अन्य खेललाई पनि यस प्रकारका परियोजना अघि बढाउने बताउनुभयो । १०औँ राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने उहाँले बताउनुभयो । बैठकले आव २०८०/८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आव २०७९/८० को बाँकी कार्यक्रम चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।