Prakash Adhikari May 19, 2023

काठमाडौँ, ५ जेठ (रासस) । नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुणत्से हिमाल सफाइ अभियान सम्पन्‍न भएको जनाएको छ ।

सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगीसहितको टोलीले बरुणत्से हिमालको आधार शिविरबाट सङ्कलित कुहिने तीन हजार ५० किलो फोहर गत वैशाख ३० गते एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई हस्तान्तरण ग¥यो ।

उक्त टोलीले सङ्कलन गरेको नकुहिने १५ हजार चार सय ७० किलो फोहर काठमाडौँ ल्याई आज राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशकका सहायक रथी सुन्दरकुमार पाण्डेले फोहर व्यवस्थापनसम्बन्धी कम्पनीका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो ।

गत वैशाख २७ गते सफा हिमाल अभियानअन्तर्गत अन्‍नपूर्ण हिमालबाट सङ्कलित फोहर हस्तान्तरण भइसकेको छ । यता सगरमाथा र ल्होत्से हिमालको सफाइ जारी रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुनेछ ।

यसैबीच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको पार्थिव शरीरलाई नेपाली सेनाको हेलीकोप्टरद्वारा उहाँको गृहजिल्ला सङ्खुवासभा पु¥याई पोष्टमार्टमपश्चात परिवारजनलाई बुझाइएको छ ।

सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ ।

 

Share Now

Leave a comment.