Prakash Adhikari April 11, 2018

काठमाडौं,२७ चैत्र । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो २८औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा हुन लागेको सम्मेलनमा देशभरका एक हजार बढी स्वास्थ्य तथा जनसंख्यसँग सम्बन्धित विज्ञहरू सहभागी हुने मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिषद्का कार्यकारी अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले जानकारी दिए।

उनले भने, ‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धानमा जोड दिन शिखर सम्मेलन आयोजना गर्न लागिएको हो।’

बदलिँदो स्वास्थ्य संरचनामा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या क्षेत्रको विकासका लागि आवश्यक सुझाव लिनका लागि सम्मेलनको आयोजना गरिएको प्रा।डा। झाले बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका सात जनालाई सम्मान पनि गरिनेछ।

सम्मेलनमा पछिल्लो समय बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, बढ्दो नसर्ने रोग जस्ता स्वास्थ्य समस्याको विषयमा भएका विभिन्न अनुसन्धानहरू प्रस्तुतसमेत गरिने आयोजकले जानकारी दिएको छ।

Share Now

Leave a comment.