काठमाडौं, ९ जेठ ।नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।
हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि आज भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँहरुमध्ये तीन जना सगरमाथा आरोही हुनुहुन्छ भने एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही एक हुनुहुन्छ । चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना समान्य उपचारपछि घर फर्किसकेका छन् भने बाँकी चार जनालाई थप उचारका लागि नयाँ दिल्ली लगिएको हो ।
सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहनुभएका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सव अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।
उहाँको शव आधार शिविरबाट सोमबार काठमाडौँ ल्याएपछि परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । बौद्ध परम्पराअनुसार उपयुक्त साइतमा उहाँको पार्थिव शरीर बुधबार टेकुमा अन्त्येष्टि गरिने छ । यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहर सङ्कलन भएको प्रवक्ता भण्डारीले बताउनुभयो । यस पटक ३५ टनको लक्ष्य थियो ।
सङ्कलित फोहरमध्ये कुहिने फोहर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहर काठमाडौँ ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।
अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहर सङ्कलनको काम सकेर फर्कने क्रममा छ । त्यहाँ सङ्कलन फोहर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पु¥याउने र त्यसपछि आवश्यकताका आधारमा सडक र हवाई यातायातमार्फत काठमाडौँमा ल्याइने छ । विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ ।


















