Prakash Adhikari May 24, 2023

काठमाडौँ, १० जेठ (रासस) ।  एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ । आजको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो ।

काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै समूहबीको विजेता बनेको हो ।

यस्तै, पराजित उज्वेकिस्तान पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उज्वेकिस्तान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । पहिलो सेट २४–२६ ले गुमाएको काजकिस्तानले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । काजकिस्तानले पछिल्लो तीन सेट २५–१६,२५–११ र २५–१८ ले जित्यो । यस जितसँगै काजकिस्तान ३ खेलमा ९ अङ्क जोड्दै समूह ‘बी’को विजेता बनेको हो । पराजित उज्वेकिस्तान समान तीन खेलमा दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ उपविजेता बन्यो । यस समूहबाट श्रीलङ्का र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

Share Now

Leave a comment.