Prakash Adhikari May 25, 2023

स्वेच्छा राउत / बीबीसी न्यूज नेपाली
काठमाडौं, ११ जेठ । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन्।

अहिले नेपालमा प्रयोग हुने अधिकांश कफ सिरप स्वदेशमै उत्पादन हुने र ती सबैले सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउनुहुन्छ।

“हामीलाई आवश्यक कफ सिरप देशकै उत्पादनले धान्छ। त्यसमाथि यहाँ भारतको कफ सिरप निकै कम मात्रै आउने भएकाले निर्यात रोकिनुले कुनै असर गर्दैन,” उहाँले जानकारी दिनुभयो।

केसीका अनुसार नेपालमा भारतबाट भित्रिने ५१ देखि ५२ प्रतिशत औषधिहरूमध्ये सीमित कम्पनीका कफ सिरप छन्।

ती कति छन् भन्नेबारे विभागसँग स्पष्ट तथ्याङ्क छैन।

तर नेपाल औषधि उत्पादक सङ्घका अनुसार नेपाली बजारमा ४० प्रतिशत कफ सिरप भारतबाट आउँछ।

कफ सिरप
नेपालका कफ सिरप कति सुरक्षित
 भारतले किन रोक्यो निर्यात ?
गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ।

केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो।

कफ सिरप

खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ।

संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको ुपावर हाउसु समेत भन्ने गरिन्छ।

तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू सुनिएको बीबीसी संवाददाता सौतिक बिस्वासले जानकारी दिनुभयो।

नेपालमा कस्तो सजगता ?

औषधि व्यवस्था विभागका सूचना अधिकारी केसीले नेपालमा हालसम्म खोकी रोक्ने झोल औषधिका कारण कुनै समस्या नदेखिएका भए पनि डब्ल्यूएचओले चेतावनी दिएका कारण सजगता अपनाइएको बताउनुभयो।

“हामीले कतै हाम्रो बजारमा पनि ती औषधि उपलब्ध छन् कि भनेर जाँच गरेका थियौँ। तर चेतावनी दिइएकामध्ये कुनै पनि ब्रान्ड नेपालमा दर्ता भएको पाएनौँ,” उहाले भन्नुभयो ।

केसीका अनुसार त्यस्ता औषधि बनाउने कच्चा पदार्थ भारतबाटै आउने भएकाले नेपालका औषधि उत्पादकहरूलाई गुणस्तर सुनिश्चित गर्न समेत निर्देशन दिइएको उहाँको दाबी छ।

“औषधिमा प्रयोग हुने तत्त्वहरूमा मिसावट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो निर्देशन दिइएको हो। नेपालमा त्यति बेलै उत्पादन भएका औषधिहरूमा पनि डाईएथलीन ग्लाइकोल प्रयोग भएको पाइएको थिएन,” केसीले भन्नुभयो।

कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।

यद्यपि त्यस्तो कार्य नियन्त्रणका लागि औषधि व्यवस्था विभागले औषधिहरूलाई क, ख र ग वर्गका वर्गीकृत गरेको छ। वर्गका आधारमा ग वर्गका औषधिहरूलाई मात्र फार्मेसीले अनुभवको आधारमा उपभोक्तालाई दिन मिल्छ। क र ख वर्गका औषधि त्यसो गर्न मिल्दैन।

“कफ सिरप यी तीन वटै वर्गमा पर्ने भएकाले सिफारिसबिना दिन मिल्ने औषधिहरू दिइन्छ। नत्र चिकित्सकको प्रेस्क्रिप्शन मागिन्छ भन्ने हाम्रो विश्वास छ,” सूचना अधिकारी केसीले भन्नुभयो ।

खोकीको औषधि vvv
नेपालमा कति कफ सिरप उत्पादन हुन्छ ?

अहिले नेपालमा करिब ३५ वटा कम्पनीहरूले कफ सिरप उत्पादन गर्ने नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताउनुभयो।

ती सबै कम्पनीहरूले छ महिनासम्म दैनिक आठदेखि १० घण्टा खोकीको झोल औषधि उत्पादन गर्ने हो भने त्यसले आगामी दुई वर्षसम्म पुग्ने उहाँको भनाइ छ।

ती औषधि व्यवस्था विभागको नियम र मापदण्डअनुरूप भएकाले सुरक्षित रहेको उहाँको मत छ।

“खोकीको झोल औषधि हामीकहाँ नै पर्याप्त छन् तर पनि भारतबाट ल्याइन्छ। यसले नेपाली औषधिको बजारलाई केही प्रभावित पारेको छ। अब निर्यात रोकिने हो भने देशकै उत्पादन वृद्धि हुन्छ,” बरालले बताउनुभयो।

यद्यपि, स्वास्थ्यकर्मीहरू कफ सिरप प्रयोगबारे सावधान हुनुपर्ने मत राख्छन्।

 के भन्छन् विज्ञ चिकित्सक ?

भारतबाट कफ सिरपको निर्यात रोकिनुले यहाँ भइरहेको त्यस्ता औषधिको दुरुपयोग निरुत्साहित गर्ने सम्भावना भएको बाल स्वास्थ्य विशेषज्ञ डा. गणेश राई औँल्याउँनुहुन्छ।

उहाँका अनुसार हाल बालबालिकालाई सामान्य रुघाखोकी लाग्दादेखि गम्भीर दमको समस्या देखिँदा समेत सिरपको प्रयोग हुने गरेको छ।

“साना नानीहरूलाई धेरै कफ सिरप खुवाउन हुँदैन तर यहाँ त्यसो गरिन्छ। यस्तो प्रवृत्ति अन्त्यका लागि भए पनि कफ सिरप उत्पादन र बिक्री वितरण रोक्नैपर्छ,” उहाँले भन्नुभयो ।

कफ सिरपमा दुई वा तीनवटा फरक किसिमका औषधिहरू प्रयोग हुने उहाँ बताउँनुहुन्छ। केहीमा ज्वरोको औषधि, केहीमा मस्तिष्कलाई खोकी रोक्न सङ्केत पठाउने तत्त्व र केहीमा घाँटीको सुजन कम गर्ने तत्त्व मिश्रण गरिएको हुने उहाँको दाबी छ।

“कतिपयमा अल्कोहल र औषधि लामो अवधिसम्म रहने बनाउन प्रिजर्भेटिभ मिसाइएको हुन्छ। यी सबैले बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्,” राईले भन्नुभयो ।

कस्ता असर देखिन्छन् ?

कफ सिरपले बच्चाको खोकी रोके पनि खकारलाई स्वासनलीमै सुकाउने र जमाउने जस्ता समस्या देखिन सक्ने डा. राईको भनाइ छ।

“कफ (खकार) बाहिर ननिस्किएपछि विकार शरीरमै रहने भयो र त्यसका कीटाणुहरूले स्वासनलीलाई झनै अप्ठेरोमा पार्छ्न,” उहाँले भन्नुभयो।

त्यस्तै आवश्यकताभन्दा बढी निद्रा लाग्ने, खाना अरुचि हुने, मुटुको धड्कन तलमाथि हुनेजस्ता समस्या कफ सिरपले बालबालिकामा पार्ने अन्य असरहरू हुन्।

“असर देखिन थालेपछि उपचार कठिन बन्छ। अझै गम्भीर विषय त के हो भने ( यसले दिमागमा पनि नकारात्मक असर पार्छ।ू

उहाँ कफ सिरपको मनलाग्दो व्यापार, उपभोक्ताको तर्फबाट त्यो के कस्ता तत्त्वहरूको मिश्रणबाट बनेको हो नहेरिनुलाई समस्याको कारण मान्नुहुन्छ । त्यसैले यस किसिमका औषधिको बिक्री रोक्न नसके पनि नियमन प्रभावकारी ढङ्गमा हुनुपर्ने उहाँको मत छ।

अथवा रुघाखोकी लागेको अवस्थामा घरेलु उपचार अपनाउनु उचित हुने डा. राईको सुझाव छ।

उहाँका अनुसार मनतातो पानीमा मह वा अदुवा, बेसार, तुलसीको पात उमालेर खुवाउनु उपयुक्त विकल्प हो।v

Share Now

Leave a comment.