काठमाडौं, १२ जेठ । नेपालको विद्युत भारतमा बिक्री गर्ने उद्देश्यले निर्माण गर्न लागिएको ४०० के.भी. क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनले गति लिन थालेको छ ।
यो प्रशारण लाईन निर्माण र सञ्चालन गर्न स्थापित बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले पावर ग्रीड कर्पोरेसन अफ इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ ।
पावर ग्रीड कर्पोरेशन अफ इण्डिया भारत सरकारको पूर्ण स्वामित्व रहेको प्रशारण लाईनसम्बन्धी काम गर्ने कम्पनी हो ।
बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्न भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा स्थापित कम्पनी हो ।
यो कम्पनीले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्ने छ ।
यसमा विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५० । ५० प्रतिशत सेयर स्वामित्व छ ।
नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैंले गर्दैछ । नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।
कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाइसकेको छ ।
नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो ।
यो प्रशारण लाईन निर्माणको अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने प्रस्ताव छ ।


















