काठमाडौं, २८ चैत्र । शैक्षिक योग्यता, सवारी लाईसेन्स र विभिन्न सरकारी कागजातका नक्कली प्रमाणपत्र बनाउने एउटा गिरोह प्रहरीको फन्दामा परेको छ ।
सो समूहले काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरमा नक्कली प्रमाणपत्र र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको कागजात बनाउनुका साथै प्रहरीले दिने चालचलन रिपोर्ट, एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्य गर्दैआएको भेटिएको छ ।
प्रहरीले सो कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख एसपी उमाशंकर पंजियारले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा रहेका छन् ।
पोल्याण्ड जानका लागि ५ हजार रुपैयामा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेपालटारमा नक्कली कागजात बनाउने कारखाना नै फेला परेको हो ।
खुमानसिंहले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा उनले बुझाएको एसएलसीको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा थापालाई अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेका थिए । तिनै अर्जुनमार्फत बलबहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर बिक्री गर्दै आएका थिए ।
‘बलबहादुर राउतले ४ बर्षदेखि आफ्नै कोठामा बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत बनाउने गरेको प्रहरीको भनाई छ ।
त्यस्तै ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम राउतले भारतबाट ल्याउने गरेका थिए । राउतले अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १ सय ५० थान प्रहरी रिपोर्ट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले राउतको कोठाबाट ठुलो संख्यामा होलोग्राम, छाप, कम्युटर लगायतका नक्कली कागजात बनाउने सामग्री बरामद गरेको छ ।
उनीहरुमाथी सरकारी छाप दस्तखत मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिने महाशाखाका निमित्त प्रमुख पंजियारले जानकारी दिएका छन्।