Prakash Adhikari May 30, 2023

अङ्कारा(टर्की), १५ जेठ, (रासस-एएनआई)। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उहाँले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याउनु भएको छ ।

एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्नु भएको हो ।

टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उहाँले राष्ट्र र जनतालाई धन्यवाद दिनु भएको छ ।
उहाँले भन्नुभयो- “हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्यौं । म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।”

“मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा ८ करोड ५० लाख नागरिक हुन्,” उहाँले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भन्नुभयो ।
उता निर्वाचितमा पाराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा “वास्तविक प्रजातन्त्र” नआएसम्म लडाइँ जारी राख्ने बताउँनु भएको छ ।

“यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौं। यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो,” उहाँले भन्नुभयो ।एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्नु भएको छ भने विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गर्नु भएको छ।

विश्वनेताको बधाई

टर्कीएको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनुभएकामा विश्वका विभिन्न देशका नेताले उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपति एर्दोगानलाई आफ्नो दुई दशकको शासन विस्तार गर्न आइतबारको ऐतिहासिक दोस्रो चुनावमा विजयी भएपछि सबैभन्दा पहिले बधाई दिने विश्व नेताहरूमध्येका नेता हुनुभयो ।

अमेरिकी राष्ट्रपति बाइडेनले विश्वव्यापी साझा चुनौती सामना गर्न टर्कीएका समकक्षी एर्दोगानसँग सहकार्य गर्ने बताउनुभएको छ । उहाँले अमेरिका–टर्कीए सम्बन्धका साथै साझा विश्वव्यापी चुनौतीको सामना गर्न उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सहयोगीका रूपमा सँगै काम गर्न तत्पर रहेको बताउनुभएको छ ।

केही असहमतिका बाबजुद एर्डोगानसँग प्रमुख अन्तरराष्ट्रिय मुद्दामा नजिकबाट सहकार्य गरेका रुसका राष्ट्रपति पुटिनले टर्कीएका नेतालाई उहाँको विजय ‘तपाईंको समर्पित कामको तार्किक परिणाम’ भएको बताउनुभएको छ । उहाँले राज्यको सार्वभौमसत्ता बलियो बनाउन र स्वतन्त्र विदेश नीतिका निम्ति एर्दोगानले गर्नुभएका प्रयासको समर्थन एवम् त्यसको स्पष्ट प्रमाण भएको उल्लेख गर्नुभएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले टर्कीएसँगको रणनीतिक सम्बन्धलाई सुदृढ बनाउन चाहेको उल्लेख गर्नुभएको छ । टर्कीए सदस्य रहेको नाटो सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि राष्ट्रपति एर्दोगानप्रति बधाई ज्ञापन गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एर्दोगानलाई पुनः निर्वाचित हुनुभएकामा बधाई दिँदै टर्किए र राष्ट्रसङ्घबीचको सहयोग र साझेदारीलाई अझ सुदृढ बनाउन तत्पर रहेको बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर ओलफ सोल्ज, युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेन्स्की, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ, ग्रीसका अन्तरिम प्रधानमन्त्री, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, तालिबान सरकारका प्रतिनिधिलगायतले राष्ट्रपति एर्दोगानप्रति बधाई ज्ञापन गर्नुभएको छ ।

Share Now

Leave a comment.