प्रिटोरिया(दक्षिण अफ्रिका), २७ जेठ । दक्षिण अप्रिकामा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ ।
नेपाल कमजोर ब्याटिङको कारण दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो । योसँगै दक्षिण अफ्रिकामा नेपालको विश्वकप छनोट तयारी सकिएको छ ।
टस हारेर ब्याटिड. गरेको नेपालले १ सय ५६ रन बनाएको थियो । १ सय ५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य हासिल गरेको थियो ।
नेदरल्यान्ड्सको जितमा वेस्ली ब्यारेसीले ६३ रन, कप्तान स्कट एडवार्ड्स २२ रन, ओपनर विक्रमजित सिंह २१ रन , एस जुल्फिकरले ९, टि निदारमेनले ७ रन बनाए ।
नेदरल्याण्ड्सलाई रोक्न नेपालका गुलशन झाले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । प्रतिश जि।सीले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिए । नेपालले सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई नेदरल्यान्ड्सविरुद्ध विश्राम दिएको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन, अलराउन्डर गुलशन झाले २४ रन, प्रतिश जि.सी.१९ रन, आरिफ शेखले १८ रन, भीम सार्कीले १० रन, कुशल भुर्तेल ९, दीपेन्द्र सिंह ऐरीले ६ रन, आसिफ शेख र अर्जुन साउदले ४ रन जोडेका थिए ।
नेपाललाई रोकन नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान विकले पाँच विकेट लिए ।
नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । स्कटल्यान्डविरुद्ध पनि हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो ।
नेपाल आइतबार जिम्बावे जादैछ ।
जिम्बावेमा नेपालले आइसिसीले प्रदान गर्ने दुई अभ्यास खेल खेल्नेछ । नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ ।
प्रतियोगिता समूह ए मा नेपाल, वेस्ट इन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् ।
समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।


















