प्युठान, २९ जेठ । प्युठानको स्वर्गद्वारी नगरपालिका भिड.ग्री कोटमा भएको कार दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारीमा दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटनामा परेको बताइएको छ ।
लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिनुभएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका ५ का कार चालक ताराबहादुर कुमाल, लमही ७ बस्ने वर्ष ४० को गोविन्द शाह, उहाँकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका १५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उहाँका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।
१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिनुभयो ।


















