
काठमाडौ, ६ कार्तिक । एनआइसीए ब्याङ्कबाट विदेशमा कारोबार गर्दा अपनाइने सफ्टवेयर प्रणाली ह्याक गरेर अवैध रुपमा स्थानान्तरण गरिएको करिब साढे दुई करोड रुपियाँ फिर्ता ल्याइएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरुले बताएका छन्।
अघिल्लो हप्ता अवैध रुपमा नेपालको ब्यांकिङ प्रणालीबाट करिब ४५ करोड रुपियाँ विदेश पुगेपछि त्यसबारे थप अनुसन्धान अघि बढाइएको राष्ट्र ब्याङ्कका एक जना डेप्युटी गभर्नरले बताए।
विदेशबाट स्वदेशमा रकम ल्याउन वा स्वदेशबाट विदेशमा पैसा पठाउन ुस्विफ्टु भनिने ब्याङ्कहरुको विश्वव्यापी प्रणालीको प्रयोग गरिन्छ।
नेपालमा विशेष गरी कामदारहरुले रेमिट्यान्स पठाउन र व्यापारीहरुले आफ्नो व्यावसायिक लेनदेन गर्न यो प्रणाली अन्तर्गत कारोबार गर्छन्।
फिर्ता
नेपाली ब्याङ्क एनआइसी एसियाको खाताबाट तिहारको बेला स्विफ्ट ह्याक गरेर अमेरिका र जापान सहितका देशमा ४५ करोड रुपियाँ पठाइएको राष्ट्र ब्यांकले पुष्टि गरेको छ।
त्यस मध्ये मध्ये केही रकम फिर्ता ल्याइसकिएको राष्ट्र ब्याङ्कका डेप्युटि गभर्नर चिन्तामणी शिवाकोटीले बीबीसीलाई बताए।
चारवटा कारोबार मध्ये करिब साँढे दुई करोड रुपियाँ सोमबार फिर्ता आएको छ
चिन्तामणी शिवाकोटी, डेप्युटि गभर्नर, नेपाल राष्ट्र ब्याङ्क
उनले भने, ‘मशरेक ब्याङ्कमा भएका चारवटा कारोबार मध्ये करिब साढे दुई करोड रुपियाँ सोमबार फिर्ता आएको छ। करिब ४५ करोड रुपियाँ ह्याक भएकोमा करिब ११ करोड रुपियाँ बाहेक अन्य हामीले बाटैमा रोकी हाल्यौं। ‘
ब्याङ्किङ जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो गम्भिर प्रकृतिको घटना प्रति चासो व्यक्त गर्दै सोमबार नै केन्द्रिय ब्याङ्कले सबै ब्याङ्कहरुलाई बोलाएर छलफल गरेको थियो।
अनुसन्धान
सफ्टवेयर प्रणाली ह्याक गरेर कसरी कारोबार भयो भन्ने विषयमा अनुसन्धान गर्न एउटा समिति गठन गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन्।
यसका साथै अहिले प्रयोग भएको प्रविधिलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भएको डेप्युटी गभर्नर शिवाकोटीले बताए।
उनले भने, ूहामीले प्रयोग गरेको प्रविधिलाई कसरी अझै प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ। साथै स्विफ्ट सफ्टवेयर बिक्रेतासंग पनि कुरा गर्नु पर्छ र जुन काम गर्ने तयारीमा हामी छौं।ू
भर्खरै अनुसन्धान शुरु भएको भन्दै के कारणले रकम स्थानान्तरण सम्बन्धी प्रविधि ह्याक भयो भनेर केन्द्रीय ब्यांकले स्पष्ट सूचना दिएको छैन।
विदेशमा भएका यस्ता कतिपय घटनामा भने ब्याङ्ककै कर्मचारीको मिलेमतो समेत देखिने गरेका छन्।



















