हंगकंग, ३२ जेठ । एसीसी महिला इमर्जिङ टिम्स टी २० एसिया कप अन्तरगत आज निर्धारित नेपाल र भारतीय टिम बीचको खेल वर्षाको कारण रद्द भएको छ ।
खेल रद्द हुँदा दुवै टिमले अंक बाँडेका छन् । लगातार वर्षा र झिजेको आउट फिल्डको कारण खेलको टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका छन् ।
नेपाललाई अंक बाँड्दा भने फाइदा भएको छ । यदि यस खेलमा नेपाल पराजित भएको खण्डमा सेमिफाइनल यात्रा समाप्त हुने थियो ।
तर अंक बाँड्दा भने सेमिफाइनल सम्भावना कायमै छ । नेपाल २ खेलमा एक मा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३ । ३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छ ।
हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ । भारतको नेटरनरेट ५.४२५ छ । भारतको सेमिफाइनल निश्चित भैसकेको छ। पाकिस्तानको ०.४५० र नेपालको माइनस ०.४५० छ । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो ।
नेपाल सेमिफाइनलमा पुग्न पहिला शनिबार घरेलु टोली हङकङमाथि सानदार फराकिलो जित हात पार्नुपर्ने हुन्छ । पाकिस्तानलाई नेट रनरेटमा पछि पार्न सक्नुपर्छ । नेट रनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन । यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा र अन्तिम खेलमा पाकिस्तान पराजित भएमा दुबै टोलीको ३ । ३ अंक हुनेछ ।
यो अवस्थामा नेपाल नेट रनरेटमामाथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारत र पाकिस्तान ए बीच शनिबार खेल हुनेछ ।
शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।