हरारे(जिम्बावे), ३२ जेठ ।आइसिसी एकदिवसीय विश्वकप छनोट अभ्यास खेलमा नेपालले ओमानमाथि २ विकेटको जित हात पारेको छ ।
जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालल ४४.५ ओभरमा ८ विकेट गुमाउँदै सो लक्ष्य हासिल गरेको थियो । नेपाललाई सहज जित दिलाउन ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आसिफ २४ बलमा २३ रनमा आउट भए ।
दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । उनले ९१ बलमा शतक पूरा गरेका थिए । भीम सार्की ७४ बलमा ९ चौकासहित ५६ रनमा क्याच आउट भए ।
दीपेन्द्रसिंह ऐरी २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । कुशल मल्ल १९ बलमा १७ रनमा क्याच आउट भए ।
कप्तान रोहित पौडेल २८ बलमा ३१ रनमा आउट भए । नेपालका सन्दीप लामिछानेले छक्काका साथ खेल सकाएका थिए ।
नेपाललाई रोक्ने क्रममा ओमानका अकिब इलियासले ७.५ ओभरमा ४२ रन खर्चेर सर्वाधिक चार विकेट लिए । फैज बटले २ र कलिमुल्लाहले १ विकेट लिए ।
त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट हुन पुगेको थियो । एक समय ६.२ ओभरमा ७।४ को दयनीय अवस्थामा पुगेको ओमानले खेलमा सानदार पूनरागमन गरेको थियो । ओमानलाई सानदार पूनरागमन गराउन कप्तान जिशान मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।
सातौं विकेटका लागि आयन खान र जिशान मकसूदले १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । आयन खानले ४६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रनको आक्रामक इनिङ खेल्दै २ सय ५० रनको योगफलको आंकडा पूरा गराएका थिए ।
सोमपाले पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई एक रनमा आउट गरेका थिए । सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए । त्यसको एक बलपछि अर्का ब्याटर अकीब इलियास शून्यमा आसिफ शेखबाट क्याच आउट भए ।
करण केसीको छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर जतिन्दर सिंह ५ रनमा क्याच आउट हुन पुगे । सोमपाल कामीले सातौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमलाई एक रनमा कुशल भुर्तेलबाट क्याच गराएपछि ओमान ७(४ को दयनीय अवस्थामा पुगेको थियो ।
तर पाँचौं विकेटका लागि मकसुद र शोएब खानले ८४ रनको साझेदारी गरेपछि खेलमा ओमान खेलमा पूनरागमन गर्न सफल भएको थियो । शोएब खान सन्दीप लामिछानेको बलमा ठूलो सट खेल्ने धुनमा ३८ रनमा क्याच आउट भएका थिए । उनले ६८ बल खेलेका थिए । प्रतिश जि।सीले सन्दीप गौडलाई १५ रनमा आसिफ शेखबाट क्याच गराए ।
नेपालको जितमा तीव्र गतिका बलर सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । पहिलो अभ्यास खेल खेलेका सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । प्रतिश जि.सीले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
नेपाल यसअघि अभ्यास खेलमा युएईसँग तीन विकेट, नेदरल्यान्ड्ससँग ५ विकेट र स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलमा लगातार तीन हारपछि नेपालको पहिलो जित समेत हो ।
योसँगै नेपालको विश्वकप छनोटको सम्पूर्ण तयारी सकिएको छ । अव नेपालले विश्वकप छनोटको पहिलो खेल आइतबार घरेलु टोली जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।
विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् ।
समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालको टोली स्
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल )कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो
(स्रोतः हाम्रो खेलकूद)


















