काठमाडाौं, ३ आषाढ । नेपालको राजनीतिमा मित्र रष्ट्र चीनको चासो बढ्दै गएको छ । रष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा एक संसदीय टोली चीन भ्रमणमा रहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले नेपालमा राजनीतिक भेटघाट तीव्र बनाएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले नेपालका राजनीीतक दलका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।
आइतबार दिउँसो नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर चिनियाँ नेतृ छु मिन सहितका चिनिँया नेताहरूले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरेका छन्।
उनीहरूबीच शिष्टाचार भेटघाट भएको एमाले कार्यालयले जनाएको छ।
लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि उनीहरूले भेट गरेका छन्। उनीहरूबीच राप्रपा केन्द्रीय कार्यालयमा भेट भएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार भेटमा नेपाल चीन सम्बन्ध, दुई पार्टी बीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको छ।


















