स्वामीनाथन नटराजन/ बीबीसी विश्वसेवा
संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ।
एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब-सहारा अफ्रिकामा बस्छन्। सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ।
बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ’९५-९५-९५’ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले जनाएको छ।
यसको अर्थ एचआईभी भएर बाँचिरहेका ९५ प्रतिशत मानिसहरूलाई आफ्नो एचआईभीको अवस्थाका बारेमा थाहा छ भने त्यस्तो जानकारी भएका ९५ प्रतिशत व्यक्तिहरूले एन्टीरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन्। उपचार पाइरहेका ९५ प्रतिशत व्यक्तिहरूले भाइरसलाई दबाइदिएका छन् जसले त्यो भाइरस अरूमा सार्ने सम्भावना लगभग समाप्त पारेको छ।
सब-सहारा अफ्रिकाका थप ८ सहित अन्य १६ देशहरू पनि उक्त लक्ष्यको नजिक छन्।
“एड्सको अन्त्य आजका नेताहरूका लागि एउटा शक्तिशाली उदाहरण प्रस्तुत गर्ने अवसर हो,” यूएनएड्सकी कार्यकारी निर्देशक विन्नी ब्यानयीमाले भनिन्।
उनले भनिन्, “यसले लाखौँको जीवन जोगाउँछ र सबैको स्वास्थ्य रक्षा गर्छ। यसले नेतृत्वले के गर्नसक्छ भन्ने देखाउँछ।”
तर यूएनएड्सले कम तथा मध्य आय भएका देशहरूलाई साढे ८ अर्ब डलर बजेट अभाव रहेको उल्लेख गरेको छ। सन् २०२२ मा प्रत्येक एक मिनेटमा एक जनाले एड्सका कारण ज्यान गुमाइरहेको उल्लेख गर्दै त्यस्तो प्रगति जुन बेला पनि गुम्नसक्ने उसको भनाइ छ।
“यो प्रतिवेदनमा तथ्य र तथ्याङ्कले हामी त्यो दिशामा छौँ भन्ने देखाउँदैन तर हामी त्यता हुनसक्छौँ भनिएको छ,“ ब्यानयीमाको भनाई छ।
किशोरीहरू जोखिममा
तर कैयौँ चुनौतीहरू सम्बोधन हुन बाँकी छन्। प्रत्येक हप्ता ४ हजार किशोरी र कम उमेरका महिलाहरूमा एचआईभीको नयाँ सङ्क्रमण थपिने गर्छ।
र प्रगतिका बाबजुद सन् २०२२ का नयाँ एचआईभी सङ्क्रमणका ६३ प्रतिशत घटना सब-सहारा अफ्रिकाका महिला र किशोरीमा देखिएको थियो।
एचआईभी खोपको परीक्षण युगान्डा, तान्जिनिया र दक्षिण अफ्रिकामा भइरहेको छ ।
दक्षिणी अफ्रिकाको वोत्स्वानामा किशोरीहरू खतरामा छन्। त्यहाँ आफूभन्दा धेरै बढी उमेरका पुरुषहरूले किशोरीहरूलाई सिकार बनाउने हुँदा त्यसलाई ‘अन्तर-पुस्ता यौन सम्बन्ध’ का रूपमा चित्रण गर्ने गरिन्छ।
गाओन ३२ वर्षकी महिला हुन् र उनलाई स्कूले छात्राहुँदा नै एचआईभीको सङ्क्रमण भएको थियो।
“मलाई एक जना नजिकका आफन्तले धेरै सहयोग गर्ने गर्थे। तीसको दशकको उमेर रहेका उनी म भन्दा दुई गुणा बढी उमेरका थिए। मैले उनलाई विश्वास गरेँ। उनले त्यसको फाइदा उठाए र मसँग यौन सम्बन्ध राखे।”
गाओन ले सन् २०१२ देखी एन्टीरेट्रोभाइरल औषधि लिइरहेकी छन्। दुई सन्तानकी आमा रहेकी उनले आफ्ना बच्चाहरू एचआईभी नेगेटिभ रहेको बताइन्। उनी अहिले अभियानकर्ताका रूपमा काम गर्छिन्।
उनका अनुसार अहिले पनि समुदाय खुला रूपमा ‘बलात्कार’ र ‘यौन शोषण’ बारे छलफल गर्न तयार छैन।
“कतिपय दिनमा, म पाँच जनासम्म महिलाबाट आफूभन्दा बढी उमेरका अधिकांश अवस्थामा आफन्तबाट एचआईभी सरेको जानकारी पाउने गर्छु। यदि पुरुषहरूले सुन्दैनन् भने हामी के गर्न सक्छौँ,” उनी प्रश्न गर्छिन्
प्रार्थनाको शक्ति
सबै तथ्याङ्कले एचआईभी सङ्क्रमित महिलाको तुलनामा स्वास्थ्य सहयोग लिन पुरुषहरूमा हिचकिचाहट रहेको देखाएको छ।
वोत्स्वानाले धार्मिक नेताहरूलाई प्रयोग गरेर पुरुषहरूको त्यस्तो व्यवहार बदल्ने र एचआईभी सङ्क्रमण रोक्ने प्रयास गरिरहेको छ।
“वोत्स्वानामा एचआईभी भएका ९५ प्रतिशत मानिसहरूलाई आफ्नो हैसियत थाहा छ। आफ्नो अवस्था थाहा नहुने अधिकांश पुरुषहरू हुन्,” उक्त समस्यासँग जुझिरहेको बहुधार्मिक समूहमा आबद्ध एक जना इसाई धार्मिक नेता माचाकगा म्फो मोरुआकगोमोले बताए।
“मानिसहरूले धार्मिक नेताहरूलाई सम्मान गर्ने भएकाले हामीले परीक्षण गराउनुपर्ने आवश्यकताबारे पुरुषहरूसँग कुरा गर्न त्यसलाई प्रयोग गर्छौँ र हैसियत पुष्टि भएको खण्डमा उपचारमा आबद्ध गराउँछौँ।”
उनले मुसलमान, हिन्दु र बहाई नेताहरूसहित स्थानीयवासीहरू पनि आबद्ध रहेको उल्लेख गर्दै कतिपय सन्देश बोकेर दैलो दैलोमा जाने गरेको बताए।
उक्त अभियानलाई ‘ब्रदर्स अराइज-नानोग्याङ’ भनिएको छ जुन देशको राष्ट्रिय गानको अंशबाट प्रेरित छ।
गिर्जाघरका पास्टर मोरुआकगोमो भन्छन्, “एचआईभीलाई लिएर धेरै अन्धविश्वास छ। हामी धार्मिक नेताहरू पनि त्यसका लागि जिम्मेवार थियौँ।”
उनले आफूहरूले सङ्क्रमितहरूलाई दोषी देखाएको उल्लेख गर्दै गल्तीका स्वीकार गर्नुपर्ने र माफ माग्नुपर्ने बताए।
न्याश्नल एड्स एन्ड हेल्थ प्रोमोसन एजेन्सीका प्रमुख ओन्टाइरेट्से लेटहारेले सन २०३० सम्म एचआईभी उन्मूलन गर्ने दिशामा बोत्स्वाना उन्मुख रहेको बताए। उनी धार्मिक नेताहरूले त्यसका लागि महत्त्वपूर्ण भूमिका खेल्ने सक्ने बताउँछन्।
बाँकी विश्वको अवस्था कस्तो छ?
बाँकी विश्वमा उक्त प्रवृत्ति त्यति सकारात्मक छैन। राष्ट्रसङ्घका अनुसार एक चौथाइ नयाँ एचआईभी सङ्क्रमण सन् २०२२ मा एसिया प्रशान्त क्षेत्रमा देखिएको थियो।
पूर्व युरोप र मध्य एसियामा पनि निरन्तर नयाँ सङ्क्रमण उकालो लागिरहेको छ। त्यसै गरी मध्यपूर्व र उत्तर अफ्रिकामा पनि त्यस्तै प्रवृत्ति देखा परेको छ।
राष्ट्रसङंघले सीमान्तकृत जनसङ्ख्यामा एचआईभी नियन्त्रणका सेवाहरूको अभाव र एलजीबीटीक्यूप्लस समुदायलाई अपराधी करार गर्ने कानुनका कारण त्यस्तो भएको उल्लेख गरेको छ।
तर पीआरइपी नामक उपचार पद्धतिले केही आशा भने दिएको छ। पूर्वी एसियाको कम्बोडियाले जोखिममा रहेका यौनकर्मी एवं समलिङ्गी तथा पारलैङ्गिक समुदायलाई ती औषधि निःशुल्क उपलब्ध गराएको छ।
दैनिक रूपमा सेवन गर्नुपर्ने चक्की एचआईभीको उपचारको लागि प्रयोग गरिन्छ। एचआईभी नेगेटिभ व्यक्तिले पनि निरोधात्मक औषधिका रूपमा त्यसलाई लिनसक्छन्।
राजधानी नोम पेन्हमा एउटा ब्युटी सलोन चलाउने ३२ वर्षकी समलिङ्गी महिला कुइ पोभ भन्छिन्, “मैले तीन महिनादेखि नियमित रूपमा चक्की लिइरहेको छु। कुनै कुनै दिन टाउको दुख्छ तर अरू खालको साइड इफेक्ट छैन। म दिनहुँ एउटा चक्की सेवन गर्छु।”
“मैले पीआरइपी लिइरहेकी छु किनभने मेरा एकभन्दा धेरै यौनसाथीहरू छन्। मलाई थाहा छ म ज्यादै जोखिममा छु।” उनले आफ्ना साथीहरूलाई कन्डमको प्रयोग गर्न सुझाव दिने गरेको भएपनि कतिपयले अस्वीकार गर्ने गरेका बताइन्।
कम्बोडियामा ७६ हजार मानिसहरू एचआईभीसहित बाँचिरहेका छन्। सो सङ्ख्याको ८६ प्रतिशत मानिसहरूलाई आफ्नो स्वास्थ्य अवस्थाका बारेमा थाहा छ। र त्यसमध्ये लगभग ९९ प्रतिशतको पहुँच उपचारमा छ।
सन् १९९६ को तुलनामा नयाँ सङ्क्रमण ९१ प्रतिशतले कम भएको छ। तर हरेक दिन कम्तीमा चार जना व्यक्तिहरू सङ्क्रमित भइरहेका छन् जुन प्रमुख चिन्ताको विषय हो।
“विगतमा कन्डमको प्रयोगको प्रचारप्रसार र प्रवर्धन गरिन्थ्यो तर धेरै जनाले त्यसलाई प्रयोग गर्दैन थिए। पीआरइपी एचआईभी सङ्क्रमण समुदायमा फैलनबाट रोक्ने एक नवीन विधि हो, ” मेन्स हेल्थ कम्बोडिया नामक गैरसरकारी संस्थामा कार्यरत डानोउ चाइ भन्छिन्।
उनका अनुसार ती चक्कीहरूले उत्साहवर्द्धक परिणाम दिइरहेका छन् र त्यसलाई सुईका रूपमा ल्याउने योजना रहेको छ।
नयाँ उपचारले कुईलाई जीवनको महत्त्वपूर्ण पक्ष आफ्नो नियन्त्रणमा राख्न सघाएको छ।
उनले हालै एचआईभी परीक्षण गराइन् र नेगेटिभ रहेको थाहा पाउँदा उनी खुसी भएकी थिइन्।