Prakash Adhikari April 15, 2018

काठमाडौं, २ बैशाख । इन्टरनेटमार्फत शेयर खरिद बिक्रि आदेश दिन सक्ने व्यवस्था कार्यन्वयनमा आएको छ।

ब्रोकर संघका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर क्रिस्टल कञ्चनजंगा सेक्युरिटिजबाट आइतबारदेखि यस प्रणालीको औपचारिक शुभारम्भ भएको छ।

नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह साउद, ब्रोकर संघका अध्यक्ष रेग्मी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, सेबोनका निर्देशक तथा प्रवक्ता निरज गिरि लगायतका अधिकारिहरुको उपस्थितिमा धितोपत्र बोर्डका अध्यक्ष ड़ा रेवतकार्कीले अनलाइन मार्फत खरिद बिक्रीको आदेश दिन मिल्ने प्रणालीको औपचारिक उद्घाटन गरे।

आइतबारदेखि औपचारिक रुपमा कार्यन्वयनमा आएको यो व्यवस्थाले पाइपलाइनमा रहेको अनलाइन कारोबार प्रणालीलाई सहयोग पुग्ने उद्घाटन अवसरमा बोर्डका अध्यक्ष कार्कीले बताए।

ब्रोकर नम्बर ५० बाट सुरु भएको यो व्यवस्था अन्य ब्रोकरहरुले पनि क्रमश लागू गर्ने बताइएको छ। हाल ब्रोकरहरुले प्रयोग गर्दै आएको बोस र मण्डला कम्पनिको ब्रोकर ब्याक अफिसमा कार्यन्वयनमा ल्याइएको सिस्टम जडान भएपछि लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिएर अनलाइन मार्फत नै शेयर खरिद बिक्रीको आदेश दिन सक्नेछन।

अनलाइन मार्फत शेयर खरिद बिक्रि आदेशको व्यवस्था कार्यन्वयन गर्न धितोपत्र बोर्डले गत फागुन २६ गते ब्रोकरहरुलाई निर्देशन दिएको थियो। ब्रोकरहरुले आफ्नो सफ्टवेयरमा यस्तो सेवा समाबेश गरेको जानकारी गराएकाले बैशाख २ देखि नै यो सेवा लागू गर्न बोर्डले २०७४ चैत ३० गते ब्रोकरहरुलाई निर्देशन दिएको थियो।

धितोपत्र बोर्डले यो सेवालाई ब्रोकरहरुलाई अनिवार्य गरेको छ भने लगानीकर्ताका लागि भने ऐच्छिक गरिएको छ। लगानीकर्ताले माग गरेको अवस्थामा शेयरदलालले युजर नेम र पासवर्ड दिएर अनलाइन मार्फत नै शेयर खरिद बिक्रिको आदेश दिने सेवा उपलब्ध गराउनुपर्नेछ।

Share Now

Leave a comment.