काठमाडौं, ३ बैशाख । आज नेपाली तिथि अनुसार वैशाख कृष्ण औँसी परेको छ । यसलाई मातातिर्थ औंसीको
रुपमा पनि लिइने गरिन्छ ।
केही दशक यता यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाउन थालिएको छ।
पञ्चांग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतमका अनुसार जन्म दिने संसार देखाउने र कर्मशील बनाउने आमाबाबुको सम्मान सँधै गर्नुपर्छ। ‘
औँसी विशेषगरी दिवंगत पितृ (आमाबुबा(लाई सम्झिने दिन हो’, गौतम भन्छन्, ‘पितृको सम्झनामा तर्पण, श्राद्ध आदि गर्ने विधान छ।’
गौतमका अनुसार यसैलाई लक्ष्य गर्दै कुनै समुदायले वर्षका १२ औँसीमध्येको यो औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाउन थाल्यो, भदौको औँसीलाई बाबुको मुख हेर्ने दिनको रूपमा लिन थाल्यो, कालान्तरमा यो सनातन संस्कृतिकै अंग बन्यो।
पूर्वीय संस्कृतिमा आमा, बाबु र गुरु देवतासरह मानिन्छन्। जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरुप्रति सँधै अनुगृहीत रहने सनातन धर्म–संस्कृतिको परम्परा हो।
यी तीनमध्ये पहिलो स्थान आमाकै आउँछ। अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ। माता पिताभन्दा हजार गुणले महिमायुक्त हुन्छिन् भनिएको छ।
सनातन संस्कृतिमा दिनहुँ मातापिताको दर्शन गर्ने उनीहरूको सम्मान गर्ने, अनुकुलका कार्य गर्ने र चित्त नदुखाउने विधान रहेको छ ।
तर विवाह गरेर पतिगृहमा पठाइएकी चेली र काम विशेषले बाबुआमाको सानिध्यबाट टाढा भएकाहरू सन्तानहरुले बैशाख कृष्ण औशीमा आमा र भाद्र कृष्ण औशीमा बाबुको मुख हेर्ने चलन चलाएको संस्कृतिविद्हरूको भनाइ छ।
‘आमालाई व्यवहार गर्दा नौ महिनासम्म कोखमा राखेको, जन्माएको, हुर्काएको, बढाएको सम्झना सँधै हुनुपर्छ।