काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मित्रराष्ट्र चीनको ६ दिवसीय भ्रमणमा सोमबार बेइजिड. प्रस्थान गरेका छन् ।
भ्रमणमा निस्कनु पूर्व आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले दुई देशका राष्ट्राध्यक्षको उच्चस्तरीय भ्रमण गराउने वातावरण मिलाउनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने बताए ।
‘हामी असल छिमेकीको बीचमा हुने सम्बन्ध विस्तार गर्ने पक्षमा छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसका लागि दुई पक्षीय र बहुपक्षीय उच्चस्तरीय भ्रमण हुन जरुरी छ ।’
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणमा जान लागेका हुन् ।
उनले भ्रमणमा यसअघि विभिन्न समयमा सम्पन्न भएका सम्झौता र परियोजनाको बारेमा पनि कुरा हुने बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण यही वर्षभित्रै हुने भए पनि मिति भने टुंगो लाग्न बाँकी रहेको बताए ।
नेपालको खास आवश्यकता र चासो रेल, पूर्वाधार र विद्युत निर्यातमा भएकाले त्यसको बारेमा भेटमा कुराकानी हुने उनले बताए । केरुङ लगायतका चीनसँग जोडिने नाकाहरुमा पूर्वाधार विस्तार, ट्रान्समिसन लाइन र यातायात विस्तारका बारेमा उच्चस्तरीय छलफल उनले जानकारी दिए ।
भूकम्पलगत्तै ३ बिलियन सहयोग दिने घोषणा भएको र त्यसका लागि निश्चित योजनाहरु छनौट भैसकेकोले सो सहयोग प्राप्तीमा पनि भ्रमण उपयोगी हुने उनको विश्वास छ ।
भ्रमणका क्रममा चिनियाँ समकक्षीसँगै उच्च राजनीतिक नेतृत्वसँग पनि भेट हुने उनले बताए ।
चीनसँग व्यापार हुँदै आएको तातोपानी नाका छिट्टै खुल्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए । चिनियाँ पक्षसँग विभिन्न समयमा कुराकानी भएको र नेपाल–चीन सम्बन्धको ऐतिहासिक महत्व उक्त नाकाले बोक्ने भएकाले छिटै खुल्ने उनले बताए ।
२०७२ सालको भूकम्पपछि उक्त नाका बन्द रहेको छ । नाका खुल्ने कुरामा पछिल्लो पटक चीनसमेत सकारात्मक रहेको संकेत आफूले पाएको उनले बताए ।
‘नेपालले तिनै चरणको चुनाव सम्पन्न गरेर संघीयतामा गएर काम गरिरहेको सन्देशसहित म बेइजिङ जाँदैछु,’ मन्त्री ज्ञवालीले भने, ‘भ्रमणका क्रममा दुई वर्षअघि चीनसँग भएका पारवहन लगायतका सम्झौताको पनि समीक्षा हुन्छ ।’
परराष्ट्र मन्त्री ज्ञवाली चीनबाट ८ गते स्वदेश फर्कनेछन् ।




















