Prakash Adhikari April 16, 2018

क्रेमलिन(रुस), ३ बैशाख (बीबीसी) । रुस र पश्चिमा शक्तिहरूले शीतयुद्धको ताकाभन्दा पनि खराब परिस्थितिको सामना गरिरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले बीबीसीलाई बताएका छन्।

वर्तमान समयमा दुई पक्षबीच कुराकानीका माध्यमको अभाव हुनुले यस्तो अवस्था निम्तिएको लाभरोभको टिप्पणी छ।

सिरियामा रासायनिक अस्त्रहरू प्रयोग गरी हमला गरिएको भनिएको स्थानमा प्रमाण मेट्न रुसले हस्तक्षेप गरेका आरोपहरू उनले अस्वीकार गरेका छन्।

खतरनाक

ब्रिटेनसहितका पश्चिमा शक्तिहरूले सम्पर्कको माध्यम बन्द गराएको आरोप उनले लगाएका छन्।

साथै परिस्थिति निकै खतरनाक रहेको पनि लाभरोभले स्वीकार गरेका छन्।

सिरियाविरुद्ध हालै गरिएको क्षेप्यास्त्र हमलाहरू‚ उनकै शब्दमा, आक्रोशपूर्ण कार्य भएको बताउँदै लाभरोभले संयुक्त राज्य अमेरिका‚ ब्रिटेन तथा फ्रान्सको कडा रूपमा निन्दा गरेका छन्।

रुसले आफ्ना पश्चिमा मित्रहरूप्रति बाँकी रहेको विश्वास पनि गुमाउँदै गएको लाभरोभले बताए।

अस्वीकार

एप्रिल ७ मा डुमा नगरमा भएको भनिएको रासायनिक हमलामा सिरियाको संलग्नता रहेको भन्ने आरोपहरू लाभरोभले पुनः अस्वीकार गरेका छन्।

उक्त घटना हुँदै नभएको र रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने विषय बनावटी भएको उनले बताए।

बीबीसीको हार्डटक कार्यक्रमलाई दिएको अन्तरवार्तामा लाभरोभले रासायनिक हमला भएको स्थानमा प्रमाण नष्ट गर्न लक्षित कुनै काम रुसले नगरेको जोडदार रूपमा बताए।

प्रश्न

रासायनिक हमला भएको स्थानमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पुग्ने भनिएको अघिल्लो दिन अमेरिका तथा उसका साझेदारहरूले किन क्षेप्यास्त्र हमलाहरू गरे भनेर पनि लाभरोभले प्रश्न गरेका छन्।

रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन- ओपीसीडब्ल्यू को आपतकालीन बैठक बस्दै गर्दा उनले त्यस्तो बताएका हुन्।

सिरियास्थित अनुगमनकर्ताहरूले अझै पनि रासायनिक हमला भएको भनिएको डुमा नगरमा प्रवेश नपाएको बताइएको छ।

Share Now

Leave a comment.