Prakash Adhikari August 2, 2023

मेलबर्न(अष्ट्रेलिया), १७ श्रावण । उपाधि दावेदार टोलीको रुपमा हेरिएको ब्राजिल फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

नकआउट चरण पार गर्न जित निकाल्नुपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो ।

ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुगन सफल भएको छ । मेलवर्नस्थित मेलवर्न रेकटेङ्गुलर स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले ७३ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जन गरेपनि जमैकाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिन पुग्यो ।

अग्रपङ्तिमा विरलै मौका बनाएको जमैकाले डिफेन्स र गोलकिपिङमा भने अब्बल प्रदर्शन गर्दै ब्राजिललाई रोक्दै समूह चरण पार गर्न सफल भयो । जमैका पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको हो ।

यस बराबरीसँगै अपराजित रहेको जमैका ३ खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा रह्यो । ब्राजिल समान एक जित, बराबरी र हारबाट ४ अंक जोडेर तेस्रो भयो । यो समूहमा फ्रान्सले तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा पानामा अंकविहीन हुँदै बाहिरियो ।

Share Now

Leave a comment.