काठमाडौं, ३० श्रावण । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन ९कोप–२८० का लागि नेपालले आफ्नो आन्तरिक तयारीको औपचारिक सुरुआत गरेको छ।
वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा उच्चस्तरीय राष्ट्रिय निर्देशक समितिको बैठक सोमबार सम्पन्न भएको छ। वनमन्त्री डा वीरेन्द्रप्रसाद महतोको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूको सहभागिता थियो।
बैठकमा कोप–२८ को तयारीका लागि बनाइएको समग्र मार्गचित्रका बारेमा जानकारी गराउँदै त्यसको कार्यान्वयन सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री डा महतोले सम्मेलनको तयारी समयमै थाल्न र सरोकारवाला सबैलाई सहभागी गराई प्रभावकारी प्रस्तुतिका लागि तयारी गर्न निर्देशन दिनुभएको थियो।
मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, वनसचिवको अध्यक्षतामा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ।
यसैगरी सम्मेलनको तयारीका लागि यसअघि अन्तर्राष्ट्रिय रूपमा नोगेसेटिङ ब्लकअन्तर्गत जी ७७ एन्ड चाइना, क्लाइमेट भलनरलेबल फोरम, एलडिसिज ग्रुपलगायतसँग निकाय र संयन्त्रसँग समन्वय गरी आधारभूत तयारी थालिसकेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभएको थियो।
सम्मेलन तयारीका लागि मन्त्रालयले सरोकारवाला विज्ञसहितको समूह गठन गरी विभिन्न सुझाव सङ्कलन गरेर राष्ट्रिय कार्यपत्रको तयारी गरिने उहाँले बताउनुभयो। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन यस वर्ष आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदै छ।
आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनमा निमन्त्रणा गरिसकेको छ। नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले यही साउन १६ गते उनलाई भेट गरी निमन्त्रणा गर्नुभएको हो।
विश्व जलवायु शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गर्नुभएको थियो। राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’ तथा आगामी डिसेम्बर १ र २ मा आयोजना हुने यूएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा निमन्त्रणा गरिएको छ। रासस


















