काठमाडौं, ४ भाद्र । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज(सोमबार)देखि संसदीय सुनुवाइ सुरु हुने भएको छ।
त्यसका लागि संसदीय सुनुवाइ समितिले उहाँलाई अहिले बिहान साढे ११ बजेका लागि बोलाउँदै छ।
यसअघि बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाइ थालिने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभएको छ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।
संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।


















