काठमाडौं, ५ भाद्र । साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति भएको छ।
सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउने कुरामा दलहरुबीच सहमति भएको हो ।
उक्त बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै उच्चस्तरीय समितिलाई कार्यादेश दिन तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।
उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो।
एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समितिको ड्राफ्ट बनाउने गरी तीन नेता सम्मिलित कार्यदल बनाइएको जानकारी दिनुभएको छ।
‘आजको बैठकमा तस्करीको विषयमा उच्चस्तरीय समति बनाउने कुरा राख्यौँ। सत्तारुढ दलहरुबाट छानबिन समिति बनाउन तयार छौँ भन्ने भएको छ’, उहाँले भन्नुभयो, ‘उच्चस्तरीय समितिमा सत्तारुढ दलहरु पनि सहमत भएपछि तीन सदस्यीय कार्यदल बनाइएको छ।’
उक्त कार्यदलले उच्चस्तरीय समितिको टीओआर मंगलबार बिहान ११ बजेसम्म तय गरेपछि दिउँसो २ बजे शीर्ष दलको बैठक बस्ने भएको छ।
अब साउन १० गतेदेखि अवरुद्ध संसद् पनि खुल्ने भएको छ । दलहरुबीच उच्चस्तरीय समिति गठनमा सहमति नबनेर संसद बैठक अवरुद्ध भएकोले प्रतिनिधि सभाका महासचिव डा. भरतराज पौडेलले भाद्र ३ गते सूचना प्रकाशित गरी भाद्र ५ गते ३ बजेसम्म प्रतिनिधिसभाको बैठक स्थगित भएको सूचित गर्नुभएको थियो ।
।
गिरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानबिन एउटा घटनामा मात्र केन्द्रित भएकोले उच्चस्तरीय समितिले एअरपोर्ट र अन्य नाकाबाट हुने सुन लगायतका तस्करी रोक्न
नीतिगत सुधारका काममा पनि ध्यान दिने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि बैकठमा सकारात्मक छलफल भएको बताउनुभयो।
‘सबै कुरा र विकल्पमा कुरा भएको छ’, कांग्रेस सचेतक लेखकले भन्नुभयो, ‘सकारात्मक छलफल भएको छ। अब भोलिदेखि संसद् चल्छ। भोलि सबै कुरा टुंगिन्छ । ’