काठमाडौं, ७ बैशाख । शेयर बजारको सुधारको लागि ल्याउन लागिएको इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीको निमार्ण कार्य ८२ प्रतिशत पूरा भएको छ ।
प्रणाली निमार्ण गरिरहेको वाईको इन्टरनेसनलले शुक्रबार आयोजित नेप्सेको सदस्य दलालसंगको अन्तक्रियामा यसको जानकारी दिएको हो ।
वाईकोका प्राविधिक विजय गुरलनले कारोबारका सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको र तिनलाई एकीकृत गरी छिट्टै प्रयोगमा ल्याउने बताए ।
वाईकोका प्रतिनिधिहरुले दलाल व्यवसायीले प्रयोग गर्ने कारोबार प्रणाली, ग्राहकको व्यवस्थापन, कारोबार आदेशको व्यवस्थापन, कारोबार गर्ने तौरतरिका, नेप्से तथा ब्रोकरको सम्बन्ध, ब्रोकर तथा ग्राहकको सम्बन्ध, क्लियरिङ्ग बैंक तथा निक्षेप प्रणालीसँगको सम्बन्ध, जोखिम व्यवस्थापन प्रणाली लगायतका विषयमा दलाल व्यवसायीलाई जानकारी गराएका थिए ।
नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रस्तावित प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो ।
शुक्रबार आयोजित कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबार थप सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी धितोपत्र दलाल व्यवसायीले प्रस्तावित कारोबार प्रणालिका बारेमा विभिन्न जिज्ञासा राख्नुका साथै सुधारका लागि सुझाब दिएका थिए ।