क्वाललम्पुर(मलेशिया), १४ भदौ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले जितेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो ।
नेपालले दिएको ८५ रनको लक्ष्य मलेशियाले निर्धारित २० ओभरमा पूरा गर्न सकेन । उसले २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो ।
मलेशियाका लागि डब्ल्यू डासिंगमले २८, एएच हासिमले १४, एम एलिशाले १०,एमआई इस्मालीले ९, डब्ल्युएम जुलाईकाले ४, ए नज्वाले ३, डब्ल्यु जुलियाले २ एन सैयुहादा र ए फिरदौजले १ । १ रन बनाएका थिए ।
मलेशियालाई रोक्नका लागि कविता कुँवर र कविता जोशीले २ । २ तथा अस्मिता कर्माचार्य र रुविना क्षेत्री बेल्वासेले एक एक विकेट लिएका थिए ।
यस पहिले नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् ।
बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक÷एक विकेट लिए ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।
त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।


















