Prakash Adhikari September 3, 2023

काठमाडौँ, १७ भदौ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आइतबार (आज) बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल  नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो।

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ।

यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका थिए ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको राससलाई जानकारी दिनुभयो ।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share Now

Leave a comment.