Prakash Adhikari September 5, 2023

काठमाडौं, १९ भाद्र। चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरले आउँदो अक्टोबरदेखि काठमाडौंबाट अष्ट्रेलियाको सिड्नी कनेक्टिङ फ्लाइट गर्ने भएको छ।

साताको सातवटा छेङ्दु काठमाडौं दुईतर्फी उडान गर्दै आएको कम्पनीले अष्ट्रेलियाको सिड्नीतर्फ कनेक्टिङ फ्लाइट गर्न लागेको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनलले जनाएको हो।

‘अष्ट्रेलियामा रहँदै आउनुभएका नेपालीलाई मध्यनजर गर्दै हामीले कनेक्टिङ फ्लाइट सुरु गर्न लागेका हौं। सिचुआनको यो उडान सुरु भएसँगै यात्रु भाडादर अझै घट्ने आशा लिएका छौं‚’ जीएसए सञ्चालक रविचन्द्र सिंहले भन्नुभएको छ।

हाल नेपालबाट हुँदै आएको कनेक्टिङ फ्लाइटको भाडादर न्यूनतम ८९ हजार रुपैयाँ कायम हुँदै आएको छ।

कतार, सिंगापुर, मलेसिया, ड्रागन, एयर इण्डिया लगायत वायुसेवाले हाल काठमाडौंबाट कनेक्टिड. सेवामार्फत अष्ट्रेलियाको सिड्नीसम्म उडान सेवा दिँदै आएका छन्।

कोभिड नियन्त्रणमा आएर चीनले आफ्नो सीमा खुला गरेसँगै चाइना हिमालय, चाइना साउदर्न, सिचुआन, एयर चाइना, तिब्बत एयर लगायतले चीन(काठमाडौंमा नियमित उडान गर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक ४६ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि काठमाडौं सिंगापुर हुँदै सिड्नी नियमित उडान गर्ने तयारी गरिरहेको छ ।

Share Now

Leave a comment.