काठमाडौँ, १९ भदौ : हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौँ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उहाँले बताउनुभयो । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताउनुभयो ।
सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङ्कङ जानुभएको छ । उहाँहरुले अहिले पनि तस्करीका सूचना सङ्कलन जारी राखेको प्रहरील जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।
दीपेश पुनमाथि अनुसन्धान
६० किलो सुन तस्करीमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको बयान लिएको छ ।
त्रिभुवन विमानस्थल बाहिर बरामद भएको सुनको तस्करीमा पुनको संलग्नता देखिएपछि पुनमाथि अनुसन्धान सुरु भएको हो ।
सीआइबीले आइतबार पुनलाई बोलाएर सोधपुछ गरेको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने भएको छ ।
सुन तस्करी प्रकरणमा प्रहरीले दावा छिरिङसँग सम्पर्कमा देखिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल र अन्य केही कर्मचारी पनि अनुसन्धानमा तानिएका छन्।
साउन २ गते बरामद ६१ किलो सुन प्रकरणमा नाम मुछिएपछि गृह मन्त्रालयले महानिर्देशक अधिकारीलाई भदौ ७ गते जिम्मेवारीबाट हटाएको थियो। उहाँ अहिले मन्त्रालयमा जगेडामा हुनुहुन्छ। अधिकारीले २०७९ फागुन १७ गतेदेखि विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसअघि उहाँ राजस्व अनुसन्धान विभागमा महानिर्देशक थिए।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र अन्य केही कर्मचारी पनि अनुसन्धानमा तानिएका छन्। सीआईबीले उनीहरुसँग बयान लिइसकेको छ।
बयानका क्रममा अध्यागमन विभागका पूर्वमहानिर्देशक अधिकारी, विमानस्थल भन्सारका तत्कालीन प्रमुख पोखरेल र भन्सारका अन्य कर्मचारीले भने सुन ल्याउने गिरोहसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।