काठमाडौँ, २६ भदौ : नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गिय सङ्गठनको औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जलिसभा गर्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । हाल पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राखिएको छ । नेम्वाङलाई श्रद्धाञ्जलि दिन अहिले पार्टी मुख्यालयमा भीड लागेको छ ।
प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
संविधान निर्माणमा सन्तुलित भूमिका
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गर्नुभएकाले उहाँको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अप्ठेरो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरुको सम्बोधन गर्नुभएको सङ्घीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई बताउनुुहुन्छ ।
उहाँले भन्नुभयो, “सुवासजीले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ ।” संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिकाको स्मरण गर्दै उहाँले त्यो बेलाको राजनीतिक अवस्थालाई नेता नेम्वाङले कुशलतापूर्वक सम्हालेको बताउनुभयो ।
पूर्वमहासचिव भट्टराईले भन्नुभयो, “सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई प्रक्रिया नै अवरुद्ध हुने परिस्थिति पनि आउन सक्थ्यो, त्यो सम्भावनालाई उहाँले बुद्धिमतापूर्वक अवतरण गराउनुभएको हो ।”


















