त्रिपोली(लिबिया), ३० भाद्र(बीबीसी) । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकका कमान्डरले संयुक्त राष्ट्रसङ्घले आदेश दिएको खण्डमा भीषण बाढीका कारण हजारौँ मानिसको ज्यान गएको उक्त उत्तर अफ्रिकी मुलुकमा आफू तत्कालै उद्धार तथा राहत वितरणमा खटिन सक्ने बताएका छन्।
झन्डै २ सय ३५ नेपाली सैनिकले बाढीबाट प्रभावित डेर्ना सहरबाट झन्डै १ सय १३ किलोमिटर पर अवस्थित राष्ट्रसङ्घीय मिशनको मुख्यालयमा पहरा दिइरहेका छन्। लिबियामा भएका सबै नेपाली सैनिक सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्।
चरम द्वन्द्वका कारण दुई प्रशासनमा विभाजित छ। अहिलेको बाढीग्रस्त क्षेत्र नेपाली शान्ति सैनिकको क्षेत्राधिकार नभएको इलाकामा पर्छ।
राष्ट्रसङ्घ र लिबियाको अर्को पक्षबीचको सहमतिमा मात्रै नेपाली सैनिकहरूले कुनै पनि मानवीय सहयोग उपलब्ध गराउने अवस्था बन्ने अधिकारीहरू बताउँछन्।
लिबियास्थित नेपाली शान्ति सैनिकहरूको ‘गार्ड मिशन’ का महासेनानीले विपद् प्रभावित क्षेत्रमा राष्ट्रसङ्घीय मानवीय सहयता संयोजकको कार्यालयमार्फत् १२८ केजी स्वास्थ्य सामग्री आफूहरूले पठाएको बताउनुभयो ।
नेपाली शान्ति सैनिकका कमान्डरले यसो भने
लिबियास्थित नेपाली सेनाको गार्ड मिशनका महासेनानी भाइकाजी थापाले डेर्ना आसपासको क्षेत्रमा मानवीय सहयोग गर्ने सामर्थ्य आफूहरूमा भएको बताउनुभयो।
“हामीसँग त्यो क्षमता छ। हामी त्यसमा राम्रोसँग तालिमप्राप्त पनि छौँ। तर हाम्रो आफ्नै क्षेत्राधिकार छ। हामीलाई अनुरोध भएको खण्डमा हाम्रा फौजहरू र चिकित्सकहरूको टोली सबै तयार गरेर राखेका छौँ, उनले भने, ूकुनै पनि बेला जान सक्ने गरी हामीसँग स्रोतसाधन र जनशक्ति तम्तयार अवस्थामा राखेका छौँ।”
समुद्री आँधीका कारण आएको भीषण वर्षाका कारण डेर्नामा दुईवटा बाँध भत्किएपछि आएको विनाशकारी बाढीका कारण अहिलेसम्म लिबियामा ११,००० जनाभन्दा बढीको ज्यान गइसकेको छ। मृतकको सङ्ख्या अझै ठूलो सङ्ख्याले बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
द्वन्द्वमा फसेको लिबियामा रहेको यूनाइटिड नेशन्स सपोर्ट मिशन इन लिबिय को सुरक्षार्थ नेपालले सन् २०१७ मा सैनिकहरू पठाइरहेको छ।
महासेनानी थापा भन्नुहुन्छ “बाढी आएको ठाउँ हामी बसेको ठाउँबाट पूर्वमा पर्छ। त्यहाँको सरकार अलग्गै छ र यहाँको सरकार अलग्गै छ। हामी पश्चिममा राष्ट्रसङ्घको मुख्यालय भएको ठाउँमा छौँ। त्यहाँ जान हामीलाई अलग्गै अनुमति लिनुपर्छ।”
दुई पक्षबीच मिलाप नरहेकाले उक्त क्षेत्रमा आवतजावत र सहयोग आदानप्रदानमा समस्या रहेको भन्दै उहँले थप्नुभयो, “उताको सरकारले पनि सहयोग चाहियो भनेको छैन। चाहियो भनेको खण्डमा हामी तयार नै छौँ।”
उहाँका अनुसार इजिप्ट, टर्कीलगायत मैत्री सम्बन्ध भएका कतिपय विदेशी सेना भने उक्त क्षेत्रमा उद्धारका लागि पुगेका छन्।
लिबिया विपद्बाट नेपाललाई पाठ
समुद्री आँधीका कारण भएको वर्षापछि डेर्नामा दुईवटा बाँध र चारवटा पुल भत्किए। त्यसले डेर्नाका आवासीय क्षेत्रहरू नराम्ररी प्रभावित भए।
“यसको प्रभाव एकदमै ठूलो भयो। घरहरू भग्नावशेषमा परिणत भएका छन्। यहाँ ुवाटर बमुका रूपमा नै लिइरहेका छन् यो घटनालाई।”
डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या २०,००० सम्म पुग्ने सक्ने बाएका छन्।
राष्ट्रसङ्घको मौसमसम्बन्धी निकायले चेतावनीहरूलाई पालना गरिएको भए अधिकांश मानिसको ज्यान जोगाउन सकिने उल्लेख गरेको छ।
नेपाली सेनाका महासेनानी थापाले उक्त विपद् निक्कै गम्भीर रहेको भन्दै ठूलो स्तरमा भएको धनजनको क्षतिबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताउनुभयो।
“यहाँको बाँध २० वर्षसम्म मर्मत नगरेको देखियो। बाढीले बाँध फुट्यो र बस्ती पनि नजिकै भएकाले त्यसले ठूलो क्षति गराएको देखिन्छ,ू उहाँले भन्नुभयो।
ूनेपालमा पनि भएका बाँधहरू सुरक्षित छन् कि छैनन् तिनीहरूको मूल्याङ्कन गर्न आवश्यक छ। हामीले पनि सजगता र सतर्कता अपनाउनुपर्ने देखिन्छ।”
नेपाली शान्ति सैनिकले कस्तो सहयोग गरेका छन् ?
अहिले लिबियामा नेपालका मात्रै शान्ति सैनिक छन्।
बीबीसीसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बाढी प्रभावित क्षेत्रमा लिबियाको अलग्गै प्रशासन सक्रिय रहेको र अहिले बाढीले पुर्याएको क्षतिमा नेपाली शान्ति सैनिकका तर्फबाट स्वास्थ्य सामाग्रीहरू सहयोगस्वरूप पठाइएको बताउनुभयो।
“विभिन्न सहायता निकाय र संयुक्त राष्ट्रसङ्घका टोलीहरूले क्षतिको विवरणहरू सङ्कलन गरिरहेका छन् र राहत सामग्री पठाउने प्रयास गरिरहेका छन्। अहिलेसम्म हाम्रो टोली परिचालित भएको छैन,” उहाँले भन्नुभयो।
“हाम्रो टोलीले नेपाली जनता र नेपाली सेनाको तर्फबाट साधारण केही औषधी र औषधिजन्य सामग्रीहरू प्रभावित क्षेत्रमा पठाएको छ। मानवीय आधारमा हामीले सहयोग गरेका हौँ।”
राष्ट्रसङ्घका महासचिवदेखि कैयौँ उच्चपदस्थ अधिकारीहरूले नेपाली शान्ति सैनिकहरूले देखाउने गरेका सहास र व्यवसायिकताको प्रशंसा गर्ने गरेको पाइन्छ।
शान्ति मिशनमा खटिँदा नेपालले आफू तैनाथ देशमा देखिने यस्ता प्राकृतिक विपद्मा मानवीय सहयोग पुर्याउँदै आएको छ। नेपाली सेनाका प्रवक्ता भण्डारीका अनुसार संयुक्त राष्ट्रसङ्घ र शान्ति मिशनहरूको नेतृत्वको निर्णयका आधारमा नेपाली सैनिकहरू खटिने गरेका छन्।
“हाम्रो प्राथमिकता शान्ति स्थापना गर्ने काम नै हो। तर त्यही बीचमा मानवीय सङ्कट आइलागेर त्यहाँको मिशन नेतृत्वले आवश्यकता देखेर सहयोग गर्नका लागि फौज परिचालन गर्ने कुरा आयो भने अन्य सहयोग गर्छ,” उहाँले भन्नुभयो।
नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा बाङ्ग्लादेशपछि सबैभन्दा धेरै शान्ति सैनिक पठाउने देश हो। अहिले झन्डै ६ हजार ३ सय नेपाली शान्ति सैनिक विभिन्न स्थानमा छन्। तीमध्ये २ सय ३५ जना राष्ट्रसङ्घको विशेष राजनीतिक मिशनअन्तर्गत लिबियामा छन्।
संयुक्त राष्ट्रसङ्घले झन्डै नौ लाख जनालाई सहयोग आवश्यक रहेको जनाएको छ भने विश्व स्वास्थ्य सङ्गठनको पूर्वी भूमध्यसागरीय क्षेत्रका आपत्कालीन निर्देशकले उत्तरी लिबियाका कैयौँ नगरहरू प्रभावित रहेको जनाएका छन्।
लिबियाको बेन्गाजी सहरस्थित एक बीबीसी संवाददाताका अनुसार बाढीग्रस्त क्षेत्रमा पीडितहरूसम्म नगण्य सहायता सामग्री मात्र पुगेको छ।
लिबियामा अरू नेपालीको अवस्था के छ?
लिबिया पनि हेर्ने इजिप्टस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालले लिबियामा खासै धेरै नेपाली नभएको बीबीसीलाई बताउनुभयो।
“विगतमा केही नेपालीहरू भएको खबर आउने गर्थ्यो। तर खासगरी गद्दाफीको शासनकालपछि त्यस्तो छैन। अहिले त्यहाँ नेपाली शान्ति सैनिक मिशन छ। तर अरू नेपालीहरू कोही पनि सम्पर्कमा छैनन्,” उहाँले भन्नुभयो।
नेपाली दूतवासले त्यहाँको अवस्था नियालिरहेको भन्दै उहाँले भन्नुभयो, “यदि नेपालीहरू छिटफुट सङ्ख्यामा हुनुहुन्छ भनेपनि सम्पर्क नभएकाले केही भन्न सकिने अवस्था छैन।”
इजिप्टस्थित नेपाली राजदूतावासले लिबियामा कुनै नेपालीलाई सहयोग आवश्यक परेमा सम्पर्क गर्न दूतावासले टेलिफोन लाइन स्थापना गरेको बताएको छ।
दूतावासले सहयोग आवश्यक परेको खण्डमा आफ्ना द्वितीय सचिव दीपक घिमिरेलाई ००२०१०२९६०६६६२ मा सम्पर्क गर्न अनुरोध गर्दै आवश्यक सहयोगका लागि पहल गरिने जनाएको छ।


















