चन्दन कुमार जाजवाडे
बीबीसी हिन्दी
नयाँदिल्ली(भारत), ३१ भाद्र । भारतका प्रमुख विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ले केही टेलिभिजन समाचार प्रस्तोताहरूको कार्यक्रममा आफ्ना नेताहरूलाई नपठाउने निर्णय गरेपछि नयाँ बहस सिर्जना भएको छ।
गठबन्धनले आफ्ना नेताहरूको बहिस्कारमा वरेका विभिन्न न्यूज च्यानलका १४ जना प्रस्तोताको सूची पनि सार्वजनिक गरेको छ।
ती टिभी प्रस्तोतालाई ‘घृणाले भरिएको’ समाचार बहस चलाएको आरोप गठबन्धनको छ।
भारतमा कुनै राजनीतिक दल वा गठबन्धनले सामूहिक रूपमा यस्तो निर्णय गरेको यो पहिलो ठूलो घटना हो।
सत्तारुढ दल भाजपाले विपक्षी दलहरूको निर्णयलाई ‘सङ्कटकालको जस्तो मानसिकता’ भनेको छ।
प्रतिपक्षको यो निर्णयबारे कांग्रेस प्रवक्ता पवन खेडा भन्नुहुन्छ, “हरेक साँझ पाँच बजे केही न्यूज च्यानलमा घृणाको बजार चलाइन्छ। विगत नौ वर्षदेखि यो क्रम जारी छ। विभिन्न दलका केही प्रवक्ताहरू यी बजारमा आउने गरेका छन्। कोही विज्ञ जान्छन्, कोही विश्लेषक जान्छन्। तर सत्य यो हो कि हामी सबै त्यहाँ घृणाको बजारमा ग्राहकको रूपमा जान्छौँ।”
The following decision was taken by the INDIA media committee in a virtual meeting held this afternoon. #JudegaBharatJeetegaIndia #जुड़ेगा_भारत_जीतेगा_इण्डिया pic.twitter.com/561bteyyti
— Pawan Khera 🇮🇳 (@Pawankhera) September 14, 2023
गठबन्धनले आफ्ना नेताहरू नपठाउने निर्णय गरेका प्रस्तोताहरूमा अदिति त्यागी, अमन चोपडा, अमिश देवगन, आनन्द नरसिम्हन, अर्नब गोस्वामी, अशोक श्रीवास्तव, चित्रा त्रिपाठी, गौरव सावन्त, नाविका कुमार, प्राची पराशर, रुबिका लियाकत, शिव अरूर, सुधीर चौधरी र सुशान्त सिन्हा छन्।
प्रस्तोता विरुद्ध यस्तो आरोप
प्रतिपक्षको यो निर्णयपछि विशेष गरी टिभी च्यानलहरूसँग सम्बन्धित व्यक्तिहरू र धेरै पत्रकारहरूबाट कडा प्रतिक्रिया आएको छ।
त्यसमा केन्द्रीय सरकारको सत्तामा रहेको भाजपा नेताहरूले पनि बोलेका छन्।
ुभारतु गठबन्धनको यस निर्णयमा भाजपा अध्यक्ष जेपी नड्डाले भन्नुभएको छ, “न्यूज प्रस्तोताहरूको यस्तो सूची जारी गर्नु नाजीहरूको काम गर्ने तरिका हो। त्यो तरिकामा कसलाई लक्षित गर्ने भन्ने निर्णय गरिन्छ।”
समाचार च्यानल आजतक, इन्डिया टुडे र जीएनटीका समाचार निर्देशक सुप्रिया प्रसादले एक्स (यसअघि ट्विटर भनिने) मा यस निर्णयको विरोध गर्दै लेख्नुभएको छ, “म यो निरङ्कुश कदमको घोर निन्दा गर्दछु। यो एकपक्षीय कदम तुरुन्त फिर्ता लिनुपर्छ।”
यस निर्णयमा एबीपी नेटवर्कका प्रमुख कार्यकारी निर्देशक र एनबीडीएका अध्यक्ष अविनाश पाण्डेले भन्नुभएको छ, “यो निर्णय सञ्चार माध्यमको गला रेट्नु जस्तै हो। लोकतान्त्रिक मूल्य मान्यता र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने गठबन्धन समाप्त हुँदै गएको देखिन्छ। तर हामी हाम्रो हरेक कार्यक्रममा सबैलाई आमन्त्रित गर्न छोड्दैनौँ।”
एनडीटीभीका पूर्व प्रस्तोता रविश कुमारले पनि एक्स (ट्विटर) मा यस निर्णयबारे लेख्नुभएको छ, “सात वर्षसम्म बहिष्कारको सामना गरिएकै हो। यसको त सात घण्टा पनि बितिसकेको छैन। यस्तो लाग्दैछ कि प्रधानमन्त्रीले भोलि प्रेस स्वतन्त्रताको रक्षा गर्न पहिलो पटक पत्रकार सम्मेलन गर्न सक्छन्…।”
रविश कुमारले एनडीटीभीमा रहँदा आफ्नो कार्यक्रम भाजपाले बहिष्कार गरेको र उक्त दलका कुनै पनि नेता आफ्नो कार्यक्रममा उपस्थित नभएको आरोप लगाउँदै आएका छन्।
गठबन्धनले आरोप लगाए जस्तै यदि प्रस्तोताले घृणापूर्ण अभिव्यक्ति दिएको वा पूर्वाग्रह देखाएको भए उनीहरूका कार्यक्रममा विपक्षी नेताहरू नगएर के फाइदा हुन्छ?
एउटा पक्षको कोही पनि उपस्थित भएन भने विपक्षीलाई थप नोक्सान पुग्दैन?
यो प्रश्नमा वरिष्ठ पत्रकार एनके सिंह भन्नुहुन्छ, “प्रस्तोता बहिष्कार गरेर च्यानलहरूको विश्वसनीयतामा एक किसिमको हमला गरिएको छ। तिमी पक्षपाती छौ र जनताले नौ वर्षदेखि के भइरहेको थियो हेरिरहेका छन् भनेर भनिएको छ।”
वरिष्ठ पत्रकार र टिभी टुडे नेटवर्कका पूर्व समाचार निर्देशक कमर वाहिद नक्वी भन्नुहुन्छ, “प्रस्तोता बहिष्कार गर्नु पनि विरोध शैली हो। तिमीले जे गर्दैछौ त्यो ठिक छैन भनिएको हो।”
नक्वी धेरै प्रस्तोताहरूले निश्चित पूर्वाग्रहका आधारमा बहस गरिरहेको बताउँनुहुन्छ।
“प्रस्तोताको काम बहसलाई मध्यस्थता गर्ने हो, कसैको पक्ष लिने होइन।”
सामाजिक सञ्जालका कारण जुट्यो हिम्मत
कमर वाहिद नक्वी ुविपक्षी नेताहरूले च्यानलहरू नभई प्रस्तोताहरूबारे प्रश्न गरेको’ बताउँनुहुन्छ।
“सामाजिक सञ्जालको जमाना छ र यसले सबैलाई प्रभावकारी विकल्प दिएको छ। प्रस्तोता बहिष्कार गरेर मूलधारका सञ्चार माध्यमलाई ऐना देखाइएको छ। मूलधारका सञ्चारमाध्यमको मनोमानी पहिलेको जस्तो अहिले छैन,” उहाँले भन्नुभयो।
सामाजिक सञ्जालको शक्ति र प्रभाव देशका विभिन्न क्षेत्रमा स्थानीय युट्युब च्यानलदेखि राष्ट्रिय स्तरसम्मका चर्चित पत्रकारहरूले युट्युब च्यानलमा समाचार कार्यक्रम र बहस गर्ने गरेको तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ।
अहिले मानिसहरू फेसबुक, एक्स र इन्स्टाग्राम मार्फत पनि समाचारमा छाउन सक्छन्।
एनके सिंह अहिले मानिसहरू टिभी च्यानल छाडेर सामाजिक सञ्जाल हेर्न थालेको बताउनुहुन्छ ।
कांग्रेस नेता राहुल गान्धीले पनि आफ्नो ‘भारत जोडो’ भ्रमणमा युट्युब च्यानलहरूलाई धेरै महत्त्व दिनुभएको थियो। यसबाहेक भारतको केन्द्रीय सत्तामा रहेको भाजपा पनि वैकल्पिक माध्यमप्रति गम्भीर देखिन्छ।
आम आदमी पार्टीका सांसद सञ्जय सिंह भन्नुहुन्छ, “यदि यी प्रस्तोताहरूले एकतर्फी समाचार देखाउँछन् भने यस्ता समाचार कसले हेर्ने ? यी प्रस्तोताहरूले ‘इन्डिया’ गठबन्धनका दलहरूलाई बक्सिङ हान्ने झोलाको रूपमा प्रयोग गर्दै आएका थिए, अब त्यो मौका पाउनेछैनन्।”
यसैबीच, कांग्रेस प्रवक्ता रागिनी नायकले गठबन्धनको निर्णय आफूलाई मन परेको बताउनुभएको छ।
भारतमा धेरै पटक टिभी बहसका क्रममा दुई पक्षबीच झडप समेत भएको छ। यसका अतिरिक्त भाषा शैलीलाई लिएर समेत टेलिभिजन बहसबारे धेरै पटक प्रश्न उठ्ने गरेको छ।
गत वर्ष सर्वोच्च अदालतले भारतका टिभी च्यानलहरूमा हुने बहसको सामग्रीप्रति असन्तुष्टि व्यक्त गरेको थियो।
विपक्षीहरूको आरोपको घेरामा आएपछि ती प्रस्तोताहरूको कार्यक्रममा कुनै परिवर्तन हुन्छ कि हुँदैन त्यो भने चासोको विषय हुनेछ।


















