काठमाडौं,११ असोज । भदौको तेस्रो साता रामशाशिष महतो बीर अस्पतालको नयाँ भवनको ग्यास्ट्रो सर्जिकल वार्ड को २२९ नम्बर बेड छेउमा भेटिनुभयो । जण्डिसले सिकिस्त हुनुभएकी पत्नी निसरीदेवी महतोको स्याहारमा तल्लिन हुनुहुन्थ्यो उहाँ । पित्तथैलीको पत्थरीका कारण जण्डिस भएको र जटिल सल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उहाँलाई बताइएको थियो । सल्यक्रियाको पालो आएर अपरेशन थिएटरमा पुगेर पनि पहिलो पटक उहाँको अपरेसन हुन सकेन । उहाँको अपरेशन जटिल भएकोले लामो समय लाग्ने अवस्था थियो । तर बीर अस्पतालका एनेस्थेसिया विभागका डाक्टरहरुले खाईपाई आएको शतप्रतिशत भत्ता सरकारले बजेटमार्फत कटौती गरेको भन्दै आंशिक हडतालमा उत्रिएको दोस्रो हप्ता लागेको थियो । बिहान ८ बजेबाट हुनुपर्ने अपरेशन ११ बजेबाट हुन्थ्यो । थोरै समय लाग्ने अपरेशन भए । उहाँको नभ्याइने भनेर फर्काइयो ।
६० बषीय आमाको मेजर अपरेशन हुने कुरा सुनेर घरबाट कान्छो छोरा रामदत्त महतो र छोरी फूलमतीकुमारी महतो पनि आएका थिए । छोराछोरी पनि बिरामी आमाको सेवामा थिए । तर एनेस्थेसिया विभागका डाक्टरहरुको हडतालको कारण भदौ २२ गतेको उहाँको पूर्व निर्धारित अपरेशन दोस्रो पटक पनि हुन सकेन । बढी समय लाग्ने भनेर सल्यचिकित्सकहरुले ढिलो अपरेशन सुरु भएको त्यो दिन पनि उहाँको अपरेशन गर्न मान्नुभएन । थिएटरबाट दोस्रो पटक फकाईनुभयो । त्यसपछिको पालोमा भने उहाँको अपरेशन भयो ।
६० बर्षीय श्रीमतीको उपचारमा आउनुभएका महतोमा श्रीमतीको उपचारमाथि भने भरोसा थियो । देशको सबैभन्दा पुरानो स्रोत र साधनले सम्पन्न अस्पतालमा आइपुगेको बिरामीको उचित उपचार हुन्छ । निको हुन्छ र किसानको गृहस्थी जीवन पुनःपूर्ववत सुचारु हुन्छ भन्ने उहाँलाई विश्वास थियो । यद्यपि यो बर्ष बर्षा ढिलो भएको र श्रीमती विरामी परेकोले उहाँले खेतिबारीमा ध्यान पुर्याउन सक्नुभएन ।तर “जान हें तो जहान है” भन्ने कथनले उहाँलाई उत्प्रेरित गरेको छ । परिवारमा सबै स्वस्थ र खुशी रहे जमिन खोस्रेर खेति गर्न कठिन छैन । भैसी बाख्रा पालेर गुजारा त भैहाल्छ । देहातको ठाँउमा सन्तोषको जीवन बाँच्न सकिन्छ भन्ने विश्वास उहाँमा थियो ।
परिवारका चार सदस्य एकैस्थानमा जमघट भएको बेलामा पनि रामआशिषको अनुहारमा चिन्ताको रेखा हट्न सकेको थिएन । छोरोलाई चिनाउदा उहाँको अनुहारमा पीडा देखियो । कान्छो छोरा भन्दाभन्दा उहाँलाई जेठो छोराको संझना आयो । जो झण्डै १२ बर्षदेखि बेपत्ता छन् । २०६८ मंसिर ६ गते घरबाट निस्केका उनी आजसम्म परिवारको सम्पर्कमा छैनन् । आफू आफन्त र गाउँ ठाउँका कसैले पनि उनलाई कही कतै भेटेका छैनन् । तिम्रो छोरो यहाँ छ भनेर कसैले रामआशिषलाईलाई भनेका छैनन् ।
१८ बर्षमा घर छोडेका रामअवतार महतो उनी कुनै आन्दोलनमा परेका पनि होइनन् । सोझो थारुको सोझो सन्तान कुनै अपराधिक र असामाजिक काममा संलग्न हुने कुरा पनि भएन् । घरको गरिबी हटाउन र बाबु आमालाई केही सुखदिन सकिन्छ कि भनेर १० कक्षा पढ्दा पढ्दै उनी वैदेशिक रोजगारीमा कतार गएका थिए । आफ्नो गाउँकी दिदीलाई बिहे गरेका मेनपावर एजेण्टले उनलाई इलेक्ट्रिकल काममा लगाइदिन्छु भनेर लिएर गएका थिए । छोरोले राम्रै कमाई गर्छ र परिवारका सबैको दुःख टर्छ भनेर रामआशिषले रिन धन गरेर छोरोलाई कतार पठाउनुभएको थियो ।
तर सोचे झै जिन्दगी रैनछ । कतार पुगेपछि रामअवतारलाई इलेक्ट्रिकल काममा लगाइएन । कडा श्रमको काममा परेपछि कलिलो उमेरका रामअवतार घर फर्किए । उनलाई इलेक्ट्रिकल काममै रुचि थियो । हाइस्कूलको पढाइ पनि नसकेका उनलाई वैदेशिक रोजगारीमा एजेण्टहरुले ठगेको देखेपछि आफूले पनि पढ्नुपर्ने चेत फिर्यो । घरमा अब म पढ्छु । एसईई पनि दिन्छु । उतै कम्प्युटर पनि सिक्छु भनेर पहिले आफू पढेको सिरहाको बालमन्दिर हाइस्कूल गए । उनी साथीहरुसंग डेरा लिएर बस्थे । घरबाट चामल तरकारी लैजान्थे पकाएर खान्थे । पढ्दै थिए ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नं ६ को सखुवा मडानस्थित घर आएका बेला रामअवतारले कम्प्युटर पनि पढन पर्यो । एउटा मोटरसाईकल किन्न पर्यो भने । विदेश गएर आएको छोरो रोक्ने कुरा त भएन् । सेकेण्डह्याण्ड मोटर साइकल किनिदिनुभयो, रामआशिषले । विदेश गएर पनि भिसा अवधिभर काम नगरि फर्किएको गएको खर्च उपर हुन मुस्किल भैरहेको बेला खर्च बढाउने कुराले परिवारमा पनि केही ठाकठूक त भएको थियो । यसपछि रामअवतारले आफूलाई झुक्याएर विदेश पठाउने मेनपावर एजेण्टसंग टिकटको पैसा फिर्ता माग्ने बताएका थिए । फ्रि भिसा फ्रि टिकट भने पनि उनी टिकट किनेर कतार उडेका थिए । त्यो पैसा फिर्ता पाउने उनमा विश्वास थियो । टिकटको पैसा लिने कुरा गरेर घरबाट सिराहा हिडेका रामअवतार त्यसपछि घर फर्केका छैनन् ।
रिसाएर हिडेको छोरो फर्केला कि भनेर रामआशिषको परिवारले महिना दुई महिना कुर्यो । माघीमा आउला कि भन्ने आशा थियो । आएनन् । उनी अध्ययन गर्ने सिराहाको बालमन्दिर विद्यालय पुगेर सोधे रामआशिषले, मंसिरदेखि नै विद्यालयमा उपस्थित हुन छोडेको जवाफ पाए । त्यो बर्षको दशै कुरे, तिहार कुरे रामअवतार आएनन । आउला भनेर आशा गर्दा गर्दै बर्ष वित्यो । दुई बर्ष वित्यो । १२ बर्ष पुग्न लाग्यो । न गाउँठाउँका कसैले तिम्रो छोरो मैले भेटे भनेर उनलाई भन्छन् । आफन्तहरुको पहुँच पनि सीमित छ । खेती किसानको सम्पर्क कति टाढा हुन्छ र ? आफ्ने दुःख आफैले थिचेर बाचेको छ रामआशिषको परिवार । चाडपर्व,विहेबारी जस्ता सामाजिक कार्यमा परिवारका सबैलाई उनको याद आउछ । लक्का जवान छोरो हरायो । १२ बर्षपहिलेको कुरा कसलाई हार गुहार गर्ने ? कोसंग भन्ने? प्रहरी प्रशासनले कसरी लिन्छ ? त्यो पनि रामआशिषलाई थाहा छैन ।
“कहाँ हराए रामअवतार महतो ?”, बुबा आमआशिष भन्नुहुन्छ, “आमा अस्पतालमा छिन, जहाँ भएपनि खबर गर्नु,९८२२९१७३११ मा । हामी १२ बर्षदेखि तिम्रै प्रतिक्षामा छौ । गरिखान पुग्ने सम्पत्ति छ फर्केर आउ घर ।”