काठमाडौं, १२ असोज । उच्च अदालत पाटनले राइड शेयरिङ प्लेटफर्म टूटललाई पुन सञ्चालनमा ल्याएको कम्पनी ज्याप र शिक्षित भट्टलाई गुगल र एप्पल स्टोरमा रहेको टूटल एप उपयोग नगर्न, नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
टूटलको ब्यवसायिक नाम, ट्रेडमार्क र यसलाई सञ्चालन गर्ने पूर्वकम्पनीमा रहेको विवाद सम्बन्धमा परेको मुद्दाको सुनुवाई गर्दै उच्च अदालत पाटनले गत असोज ५ गते शुक्रबार यस्तो आदेश दिएको हो ।
यस पहिले टूटलको सेवा सञ्चालन गर्ने मण्डला डिजिटल होल्डिङस् प्रा.लि.का तर्फबाट दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतका न्यायमूर्तिद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलाशले सो आदेश दिएको हो ।
राइड शेयरिङ प्लेटफर्म टूटल सञ्चालन गर्ने मण्डला डिजिटलकातर्फबाट आफ्नो कम्पनीको कारोबार र हिसाबकिताव राफसाफ नभएको अवस्थामा आफूले सञ्चालन गरिरहेको सेवा कम्पनीका शेयर होल्डर र सञ्चालकहरुलाई जानकारी नदिईकन निज शिक्षित भट्टले एकलौटी ढंगले अर्को कम्पनीलाई बिक्रीवितरण गरेकोले यस विवादको न्यायिक निरुपण नभइञ्जेल टूटल सेवा सञ्चालनमा रोक लगाउन र टूटल सम्बन्धी जानकारी दिने गुगल एप स्टोर र एप्पल एप स्टोरका एपहरु उपयोग नगर्नू नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिइएको थियो ।
कोरोना महामारी अगाडि नेपालमा राइड शेयरिङ कम्पनीको रुपमा अत्यन्त ख्याति कमाएको टूटलको कारोबार कम्पनीका सिईओ भट्टको लापरबाहीको कारण सुस्ताउदै गएको थियो । हाल नेपालको राइड शेयरिङ बजार अन्तर्राष्ट्रिय इन ड्राइभले लिंदै गएको छ ।
डेलिभरी सेवा उपलब्ध गराउने ज्याप कम्पनीले भदौ १५ अर्थात सेप्टेम्बर १ मा राइडरहरुका लागि टूटल ड्राइभ एप सार्वजनिक गरेर भदौ २० गते अर्थात सेप्टेम्बर ६ देखि नयाँ व्यवस्थापन अन्तरगत सेवा सञ्चालन हुने सार्वजनिक जानकारी दिएको थियो । ज्यापले टूटल सेवा सञ्चालन गर्ने जानकारी गराइएपछि यसका पूर्वसञ्चालकहरुले आफ्नो कम्पनीको सेवा र ट्रेडमार्क चोरी भएको थाहा पाएका थिए ।
उच्च अदालत पाटनले विपक्षी ज्याप सर्भिसेज प्रा.लि. र शिक्षित भट्टसहितका विपक्षीहरुलाई सूचना पाएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ भने १६ गते अन्तरिम आदेशका लागि पेशी तोकेको छ ।
प्रस्तुत मुद्दामा निवेदक मण्डला डिजिटलका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अन्जान न्यौपानेले बहस गर्नुभएको थियो ।